Mero Chitwan
कांग्रेसले नीति तथा कार्यक्रम पेश गर्न दिने, नियमित बैठकमा भने अवरोध जारी रहने

काठमाडौं–सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठनको माग गर्दै आएको नेपाली कांग्रेसले सरकारको नीति तथा कार्यक्रम भने प्रस्तुत गर्न दिने भएको छ । 

प्रधानमन्त्री निवासमा आज बिहान भएको छलफलमा कांग्रेस नेताहरु नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिन सहमत भएका हुन् । संसदको गतिरोध फुकाउन प्रधानमन्त्री पु्ष्पकमल दाहालले आज बिहान कांग्रेस महामन्त्री गगन थापा र कांग्रेस प्रमुख सचेतक रमेश लेखकलगायतका नेताहरुसँग छलफल गरेका थिए । 

संसदीय छानबिन समितिको विषयमा सत्तापक्ष तथा प्रमुख प्रतिपक्ष आ–आफ्नै अडानमा रहेपछि संसदको गतिरोध लम्बिँदै गएको थियो भने सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेबारेमा पनि सरकार अन्योलमा परेको थियो । 

सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा हिजो बसेको कांग्रेस पदाधिकारीको बैठकले छानबिन समिति नबनाए नीति तथा कार्यक्रम नै अवरुद्ध गर्नेसम्मको चेतावनी दिएपछि सत्तारुढ दलका शीर्ष नेताहरु दिनभर नै दौडधूपमा व्यस्त भएका थिए । हिजो साँझ बसेको एमाले, माओवादी र रास्वपाको बैठकमा नेताहरुले व्यक्तिकेन्द्रित छानबिन समिति गठन नहुने धारणा राखेका थिए । 

काग्रेसले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिए पनि त्यसपछि साँझ ६ बजे बोलाइएको प्रतिनिधिसभाको बैठक भने अवरुद्ध गर्ने संकेत दिएको छ । नीति तथा कार्यक्रम भने राष्ट्रपति रामचन्द्र पौैडेलले अपराह्न ३ बजे प्रस्तुत गर्ने कार्यतालिका छ । 

प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१  ०९:००
प्रतिक्रिया दिनुहोस्
Weather Update