Mero Chitwan
 शरणार्थी नेता टेकनाथ रिजाल रिहा, कसले जुटाइदियो १५ लाख धरौटी ?

काठमाडौँ-नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएर पुर्पक्षका लागि थुनामा रहेका भुटानी शरणार्थी नेता टेकनाथ रिजाल अदालतको आदेशपछि धरौटी बुझाएर आज रिहा भएका छन् । 

 उक्त मुद्दामा सात महिना हिरासतमा बसेका रिजाल धरौटी बुझाएर रिहा भएका हुन् । उनलाई उच्च अदालत पाटनले १५ लाख धरौटीमा छाड्न आदेश दिएको थियो । तर धरौटी रकम बुझाउन नसक्दा सुन्धारा कारागारमै रहेका उनी धरौटी बुझाएपछि आज रिहा भएको सहयोगी विश्वनाथ क्षेत्रीले जानकारी दिए । रिहाइपछि रिजालले आफ्नो पक्षमा सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।गत मङ्सिर १५ मा उनलाई धरौटीमा रिहा गर्न आदेश भएको थियो । 

काठमाडौँ जिल्ला अदालतमा आइतबार बेलुकी धरौटी रकम बुझाएका उनलाई बिदा भएका कारण आज मात्रै रिहा गरिएको हो । अब उनी पुस २० गते काठमाडौँ जिल्ला अदालतमा उपस्थित हुनुपर्नेछ ।  शरणार्थी प्रकरणमा पुर्पक्षका लागि जेल परेका  पूर्वगृहमन्त्री बालकृष्ण खाँण उच्चको आदेशअनुसार जिल्ला अदालतमा ३० लाख र सम्पत्ति शुद्धीकरण विभागमा १५ लाख रुपैयाँ बुझाएर रिहा भइसकेका छन्। 

  पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप, आरोपी नरेन्द्र केसी, हरिभक्त महर्जन, शमशेर मियाँ र रामशरण केसीले पनि तोकिएको रकम बुझाएर रिहा भएका छन् । उक्त प्रकरणमा पूर्वसचिव टेकनारायण पाण्डे, पूर्वउपप्रधानमन्त्री रायमाझी, इन्द्रजीत राईलगायत भने पुर्पक्षका लागि कारागारमै छन् ।

कसले जुटाइदियो १५ लाख ?

नेता रिजालका लागि धरौटीको १५ लाख विश्वनाथ क्षेत्रीको पहलमा जुटाइएको थियो । उच्च अदालत पाटनले १५ मंसिरमै धरौटीमा रिहा गर्न आदेश दिए पनि उक्त रकम जम्मा गर्न नसक्दा एक महिनासम्म पनि रिहा हुन पाएका थिएनन् । उनलाई क्षेत्रीले केन्द्रीय कारागार जगन्नाथदेबलमा गएरसमेत भेटेका थिए । आइतबार नै रिजालले काठमाडौं जिल्ला अदालतमा कानुन व्यवसायी राजकुमार सुवालमार्फत १५ लाख रुपैयाँको बैङ्क ग्यारेन्टी बुझाएका हुन् । 

क्षेत्री नेता रिजाल भुटानको राबुना र चेम्गाङ जेलमा बस्दाका सहयोद्धा थिए । उनी पेन्सिलभानिया राज्यका गभर्नरको सल्लाहाकार कमिसनका सदस्यसमेत भएका थिए । 

प्रकाशित मिति: बुधबार, पुस ११, २०८०  २२:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update