चितवन- सौराहामा जारी चितवन हात्ती तथा पर्यटन महोत्सव २०८० अन्तर्गत हात्ती सुन्दरीको उपाधि 'सेल्फीकली' ले जितेको छ । प्रतियोगितामा सहभागी छ वटा हात्ती सहभागी रहेकोमा १७ वर्षको सेल्फीकलीले उपाधि जित्न सफल भएको हो ।
सेल्फीकलीलाई दोश्रो पटक प्रतियोगितामा सहभागी गराइएको थियो । यसअघि २०७५ सालमा सेल्फीकलीले उपाधी हात पार्न सकेको थिएन । सेल्फीकलीलाई माउत किशोर कुमालले प्रतियोगितामा समावेश गराएका थिए। हात्तीको सुन्दरी प्रतियोगिता पोथी हात्तीका बीच प्रतिस्पर्धा हुँदै आएको छ ।
प्रतियोगितामा चितवन राष्ट्रिय निकुञ्जको ११ वर्षीय रिमझिमकली हात्ती दोस्रो र युनाईटेड हात्ती सञ्चालन सहकारी संस्थाका रामप्रसाद रिजालको २२ वर्षीय सम्बृद्धिकली हात्ती तेस्रो भएका छन् । प्रतियोगितामा हरिभक्त घिमिरेको लक्ष्मीकली, शङ्कर शैजुको बिजुलीकली, दीपक भट्टराईको रानीमायाकली र रामकुमार चौधरीको चम्फाकली हात्ती सहभागी थिए । हात्तीको सरसफाइ, श्रृंगार, हिँडाइ, घाउचोट नभएको, हात्ती र माउतेको व्यवहारलगायतको मूल्याङ्कन गरी प्रतिस्पर्धा गराइएकोमा मूल्यांकनबाट सेल्फीकली उत्कृष्ट घोषित भएको निर्णायक चितवन राष्ट्रिय निकुञ्जका बरिष्ठ पशु चिकित्सक डा विजय श्रेष्ठले जानकारी दिए ।
हात्ती सुन्दरीका माउतले १५ हजार रुपियाँ, दोस्रो हुनेका माउतेले १० हजार रुपियाँ र तेस्रोले पाँच हजार रुपियाँ नगद पुरस्कार पाउनेछन्। हात्तीको सरसफाइ, नङ काटे नकाटेको, घाउ चोट भए नभएको, त्यसको स्वास्थ्य लगायतका मापदण्डलाई प्रतियोगितामा निर्णयको आधार बनाइएकोमा यो वर्ष दर्शकको भोटलाई पनि प्रतियोगिताको निर्णयको आधार बनेको थियो । महोत्सवमा सबैभन्दा बढी रुचाएको प्रतियोगिता ‘हात्ती सुन्दरी’ हो । यस्तो प्रतियोगिताले हात्तीलाई सुन्दर र स्वस्थ्य राख्न प्रेरणा दिन्ने महोत्सवका संयोजक ओमप्रकाश पाण्डेले बताए ।