Mero Chitwan
 फेरि क्षेत्रवास

चार दाजुभाइमध्ये सबैभन्दा निरोगी मानिनु हुन्थ्यो बुवा ! सामान्य बिरामी हुनु त स्वभाविक हो, तर थलै पर्नेगरी बुवा बिरामी नहुनुभएको धेरै भैसकेको थियोे ! ७९ बर्षको उमेरमा पुग्दा भने बुवा अलि कमजोर देखिन थाल्नु भयोे ! बुवाको सङ्घर्षमय जीवनले पनि रोगव्याधिमाथि विजय हासिल गर्नु भएको हो कि जस्तो लागेको थियो मलाई !

आँखाको मोतियाविन्दुले बुवालाई अप्ठ्यारो पार्न थालेपछि आँखाको उपचार गराउन काठमाडौं ल्याइएको थियोे ! आँखाको उपचार चल्दाचल्दै कव्जियतले पनि सताउन थाल्यो ! खानामा रुचि घट्न थालेपछि पेटको उपचार शुरु गरियो !

भाइमार्फत् वीरेन्द्र अस्पताल छाउनीमा भर्ना गरी शुरु गरिएको उपचार र विविध प्रकारका परीक्षणपश्चात् बुवालाई ठूलो आन्द्रामा क्यान्सर भएको निर्क्यौल भयो ! क्यान्सर विभिन्न स्थानमा फैलिएको र कलेजोमा पनि गम्भीर असर पारिसकेको रहेछ ! उपचारको क्रममा भाइ उमेश अहोरात्र खटिरहेको थियोे ! हाम्रा दिनचर्या बदलिएका थिए !

हाम्रा दिन अस्पतालमा बितिरहेका थिए ! खान र सुत्नको कुनै ठेगान थिएन ! परिवारमा बिमारी परेपछि सबै सदस्य हत्तु हैरान परिन्छ ! मन भित्रैदेखि दुखिरहेको थियोे ! यस्तो असाध्य रोगले छोए पनि बुवालाई बचाउन सकिन्छ कि भन्ने आशाको लहर मेरो अनुहारमा पनि सलबलाईरहेको थियो ! हामीले नभ्याउँदा मेरी पत्नी ईन्दिरा र भाइ बुहारी गङ्गाले पनि अस्पतालमा बुवाको हेरचाह गरिरहेका थिए ! छोरा ईश्वर र भतिजो सन्देश आफ्नो पढाइ छोडेर पनि अस्पतालमा पुगिरहेका थिए ! नातामा पर्ने विभिन्न व्यक्तित्वहरुले यही रोगका कारण प्राण त्याग्नु भएको भएपनि आफ्नै परिवारमा पर्दा भने आफैं भित्रैदेखि गलिँदो रहेछ !

बुवाले खाना खान छोड्नु भएपछि भने डाक्टरहरुको समूह बुवाको पेटको शल्यक्रिया गर्नुपर्ने निस्कर्षमा पुग्नु भएको थियोे ! शल्यक्रिया त गर्ने तर बुवाको शरीरमा हेमोग्लोबिन र प्रोटिनको मात्रा भने असाध्यै न्युन थियोे ! २०८० मङ्सिर २३ गते बुवाको शल्यक्रिया सफल भयो र हामीले पनि सन्तोषको श्वास लियौं !

तेह्रौं पुण्यतिथिका दिन शैयादान गर्ने बेला कसैले सुनको प्रतिमाको कुरा उठायो ! म छक्क परें ! एक टुक्रा सुन नलगाई बुवा आफ्नो भौतिक जीवन त्यागेर पण्डाहरुले भन्दै आएको स्वर्गतिर लागिसक्नु भयो, अब यहाँ सुनको प्रतिमाको खोजीमा पुरोहित आत्माहरु तड्पिरहेका थिए !

अब शल्यक्रिया विभागले बुवालाई अङ्कोलोजी विभागमा सिफारिस गरेको थियोे ! क्यान्सर रोग बिशेषज्ञ डाक्टर सुनीलकुमार श्रेष्ठले केमोथेरापीको तयारी गर्ने क्रममा यस रोगको पहिचान गर्ने सम्बन्धमा धेरै महत्त्वपूर्ण कुराहरु बताउनु भएको थियोे !

 उहाँले भन्नुभयो, 'कुनै पनि व्यक्तिलाई अकारण पखाला लाग्ने र कब्जियत हुने भैरह्यो भने चाहिँ आन्द्राको क्यान्सरको सम्भावना अधिक हुन्छ ! '

बुवाको उमेर, शारीरिक अवस्था र भर्खरै गरिएको शल्यक्रियाका कारण पनि बुवाले केमोथेरापीका जटिलता थेग्न सक्ने अवस्था थिएन ! निरन्तर रुपमा हेमोग्लोबिन र प्लेटलेटको मात्रा घटिरहेको थियोे ! त्यसैले डाक्टर सावहरु पनि केमोथेरापीको उपचार पद्धतिबाट अपेक्षित लाभ हुनेमा शङ्कित नै हुनुहुन्थ्यो ! अन्तमा डाक्टरले निस्कर्ष सुनाउनु भयो, ' बुवालाई घरमै राखेर हेरचाह गर्नुहोस् ! मन लागेको कुरा खान दिनुहोस् ! '

 जतिसुकै मन थाम्न खोजेपनि भित्रैदेखि बिचलित हुँदै थियौं ! सम्भावनाका क्षेत्रहरु पहिल्याउँदै थियौं !

कसैको केही सीप लागेन ! बैकल्पिक उपचारका सम्भावनाहरु सीमित हुँदै थिए ! बुवा केही समयको मात्रै पाहुना हो भनेर मान्न मन तयार थिएन !

आखिर यो असाध्य रोगले बुवालाई लगिछाड्यो ! २०८१ बैशाख ८ गते शनिबार बेलुकी ४:३० बजेतिर बुवाले प्राण त्याग गर्नु भयो ! सबै परिवारहरुका बीच बुवाले आँखा चिम्लनु भएको थियोे ! रुवाइको ध्वनिले घर कोलाहलमय बनेको थियोे ! सम्झाइ बुझाइ गर्नुपर्ने मानिस नै रुँदा परिस्थितिलाई कस्ले सम्हाल्ने ! झमक्क साँझ पर्दासम्म पनि म अन्योलताको पोखरीमा डुबिरहेको थिएँ ! बागमती नदीको किनारमा बुवाको अन्तिम दाह संस्कार सम्पन्न गरी राति करीब १० बजेतिर हामी घर फर्कियौं ! हामीले मान्दै आएको संस्कारले हामीलाई सेता कपडा पहिर्याएर कोराभित्र हुलिदियो !

कोठाको एक कुनामा आमा सेतै परिधानमा कुचुक्क परेर बस्नु भएको थियोे ! आमाको सिउँदोबाट सिन्दुर पुछिइसकेको थियोे ! हातका चुरा  फुटिसकेका थिए ! अव एक कुनामा म र भाइ, अर्को कुनामा आमा ! अर्को कोठापट्टि आमाका बुहारी र छोरी बसेका थिए ! परेपछि भोग्नु पर्छ भनेको यही हो ! समाज र संस्कारले हामी किरियापुत्रीका लागि कडा नियम बनाइदिएको छ ! हामीले कसैलाई छुन नहुने, कसैले पनि हामीलाई छुन नहुने ! छोएमा फेरि क्षेत्रबास बस्नुपर्ने ! क्षेत्रवासका दिन केही खान नहुने ! दाँत माझ्न नहुने, सावुनले हात धुन नहुने ! पाँचसय बर्षअघि जेजस्तो गरिन्थ्यो अहिले पनि सोही मुताविक गर्नुपर्ने आचारसंहिता बनेको थियोे ! नियम पनि थरिथरिका हुँदा रहेछन् ! पुरोहितको छुट्टै नियम, वरिपरि झुम्मिने आगन्तुकहरुका छुट्टै नियम, दाजुभाइका छुट्टै नियम, यस्तो कर्म गरिसकेका भुक्तभोगीहरुका छुट्टै नियम, घरका महिला सदस्यहरुका छुट्टै नियम !

बिरालो कुकुरजस्ता जनावरबाट सधैं टाढै रहनु पर्ने जस्ता कठिनाइपूर्ण दिनहरुको स्मरणले पनि सारा शरीर सिरिङ्ग हुने रहेछ ! यो समाज सितिमिति परिवर्तन नहुने रहेछ भन्ने कुरा भोगिँदै थियो !

यी छुट्टाछुट्टै नियम पालना गर्न पनि कति गाह्रो ! हाम्रो संस्कार भन्ने कि कुसंस्कार भन्ने ! कुसंस्कार भन्ने आँट जुटाउन पनि गाह्राे रहेछ ! हप्कीदप्की खानुपर्ने ! दोस्रो दिनदेखि दशौं दिनसम्म बिताउन एक युग जस्तो लाग्ने रहेछ ! दिशा पिसाव गर्न जान पनि पालो पहरा चाहिने ! बिरालो कुकुरजस्ता जनावरबाट सधैं टाढै रहनु पर्ने जस्ता कठिनाइपूर्ण दिनहरुको स्मरणले पनि सारा शरीर सिरिङ्ग हुने रहेछ ! यो समाज सितिमिति परिवर्तन नहुने रहेछ भन्ने कुरा भोगिँदै थियो !

 यस्तो बेलामा सामाजिक सहयोग भने मज्जाले पाइँदो रहेछ ! पुगनपुग, सरसहयोगका लागि छिमेकीहरुले बढाएका हातहरुले मनमा निकै ढाडस दिँदो रहेछ ! क्षेत्रवासका दिन ढिकुरो उठ्दो रहेछ । अनि त्यसको भोलिपल्टदेखि ढिकुरोको पुजा ! ढिकुरे भाइहरु वरिपरि जुट्दा रहेछन् ! ढिकुरे भाइहरुलाई पनि सधैं आइपुग्न कठिनाइ ! दूरीमा अलि टाढा भए पनि मधु दाइ डालो बोक्न खटिनु भएको थियो भने उहाँलाई ल्याउने लैजाने र हामीलाई खानपिनको व्यवस्थापन गरिदिने कार्यमा जीवन भाइ खटिए ! डाले दाइको उपाधिले फुरुक्क परेका मधुदाइ हौसी हौसी काम गरिरहेका थिए ! अरु अरु दाजुभाइहरुलाई पनि सहयोग गरेको जस्तो पनि देखाउनु छ, सहयोग गर्न मन छैन फिटिक्कै !

एकजना भाइले त भनी पनि हाले, 'खर्चवर्च छ कि छैन नि ! भनिहाल्नु है ! मसँग नभए पनि साहुले पत्याउँछन् मलाई ! ' 'धन्यवाद भाइ ! अहिलेसम्म चल्दैछ !' यति भनेर मैले कुरा टुग्याउन खोजें !

भोलिपल्ट उसैले फेरि भन्यो, 'पुरोहितलाई दान दक्षिणा राम्रै गर्नु पर्छ नि ! गरुड पुराण भन्नेलाई पनि ठग्नु हुँदैन ! थाहा छ कि छैन ! '

आफूलाई मनभरि सन्ताप छ ! केही ढिकुरे भाइहरुलाई चाहिँ पुरोहितले पाउने दान दक्षिणाको चिन्ता छ ! यस्ता दाइभाइहरु हामीलाई सहयोग गर्न जम्मा भएका हुन् कि हामीलाई खाल्डो खनेर पुर्न जम्मा भएका हुन्, मैले बुझ्न सकिरहेको थिइनँ !

अब सरसामान जुटाउने समय आउँदै थियोे ! पहिले जे परेपनि हामी छौं भन्ने ढिकुरे भाइहरु पछिपछि हट्दै थिए ! एघारौं कसरी गर्ने भन्ने कुरामा उनीहरू हामीलाई निर्देशन गर्दैथिए ! कुनै व्यक्तिलाई खोजेर काट्टो खुवाउनु पर्छ भनेर उनीहरू हामीमाथि दबाब बढाउँदै थिए ! हामीले मानेनौं ! यस बिषयमा भाइ उमेश र म एकमत थियौं ! काट्टो खुवाउने अमानवीय प्रथालाई हामी कुनै हालतमा स्वीकार गर्दैनौं भनेपछि उनीहरू अलि टाढा टाढा हुँदै गैरहेका थिए ! तेह्रौं पुण्यतिथिका दिन शैयादान गर्ने बेला कसैले सुनको प्रतिमाको कुरा उठायो ! म छक्क परें ! एक टुक्रा सुन नलगाई बुवा आफ्नो भौतिक जीवन त्यागेर पण्डाहरुले भन्दै आएको स्वर्गतिर लागिसक्नु भयो, अब यहाँ सुनको प्रतिमाको खोजीमा पुरोहित आत्माहरु तड्पिरहेका थिए !

जेनतेन बुवाको काजकिरिया सम्पन्न गर्यौं ! व्यवहारिक कठिनाइका कारण कपडा फुकाउने निर्णय गरियो ! यस बिषयमा पनि व्यवधानहरु सिर्जना भए ! यस बिषयमा काकाको पनि बिमति थियो ! शोकको घडीमा हामीलाई सम्झाइबुझाइ गर्नुपर्ने बेलामा उहाँले हामीलाई गाली गरिरहनु भएको थियोे ! उहाँको आशय थियोे - सेतो कपडा लगाएर एकबर्ष पनि बाबुको शोक बोक्न नसक्ने गधा हौ तिमीहरू ! गाउँको मामा पर्ने एक जना व्यक्ति पनि निकै कुर्लिए ! उनको नजरमा कपडा फुकाएर हामीले ठूलो अपराध गरेका थियौं ! उनलेे आक्रोशित हुँदै भने, " तिमीहरुको बाबुप्रतिको भक्ति पनि देखियो ! एक बर्ष सेतावश्त्र धारण गर्न नसक्ने तिमीहरू कसरी छोरा भयौ ! बाउ बारबार मर्दैनन् त ! "

यिनको धार्मिक कट्टरताको वचन वाणले गर्दा हाम्रो मन छियाछिया भएको थियो ! भाइले त यिनलाई मुखभरिको जवाफ दिइसकेको थियो ! म भने यस्ता मोटा बुद्धिसँग किन सवालजवाफ गर्नु भनेर चुप लागेर बसेको थिएँ ! सामान्य परिवर्तनलाई पनि स्वीकार गर्न नसक्ने यी आदिम पण्डाहरुसँग केही गरी नसकिने रहेछ ! यस्ता संस्कारहरुलाई सरल बनाउँदै लगेर सबैलाई सहज हुने बनाउनु पर्नेमा देखासिकि गर्दै जटिल बनाएर संस्कार सिध्याउन र धर्मान्तरण गराउन यस्ता स्वाँठ पण्डाहरुको पनि हात रहेछ भन्ने बुझ्दा भित्रैदेखि मन दुखिरहेको थियोे !

 यी पुराना सोचका मानिसहरूका नजरबाट जोगिँदै बुवाको काज किरिया सिध्यायौं ! बुवाको आशिर्वादले गर्दा हामीले फेरि फेरि दोहोरो क्षेत्रवास बस्नु परेन !
              
   वागमती ११, कर्मैया, सर्लाही

प्रकाशित मिति: शनिबार, वैशाख २९, २०८१  ०७:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update