काठमाडौं- डा भगवान कोइरालाको नेतृत्वमा निर्माण भइरहेको काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) लाई भाटभटेनी सुपरमार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले ४१ करोड सहयोग गर्ने भएका छन्।
गुरुङले शुक्रबार हेपाली हाइटमा रहेको किओचको कार्यालय र कार्यालय परिसरमा बनिरहेको अस्पताल क्षेत्रमा पुगेर ४१ करोड सहयोग गर्ने घोषणा गरेका हुन्।
अस्पताल निर्माणको काम भइरहेको क्षेत्र देखाउँदै डा कोइरालाले काठमाडौं र बाहिर भइरहेको कामका विषयमा गुरुङलाई जानकारी दिएका थिए।
गुरुङको घोषणापछि भाटभटेनी सुपरमार्केटले भनेको छ 'एक स्वस्थ भविष्यको निर्माणमा हाम्रो सहयोग! हाम्रो भाटभटेनी सूपरमार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले डा. भगवान कोइरालाको नेतृत्वमा बन्न लागेको बाल अस्पतालका लागि ४१ करोड सहयोग घोषणाले हामी सबैलाई थप हर्षित बनाएको छ।'
डा कोइरालाको नेतृत्वमा किओचले काठमाडौंसहित देशका सातवटै प्रदेशमा बाल अस्पताल बनाउने योजना बनाएको छ।