काठमाडौँ : उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले गगन थापाले आफूले निवेदन दिएर ऋण लिएको प्रमाण देखाए राजनीति छोडिदिने चुनौती दिएका छन् ।
उनले शुक्रबार साँझ सामाजिक सञ्जालमा लेख्दै आफूमाथि लगाइका आरोपबारे सदनमा बोल्न दिन पनि माग गरेका छन् । उनले लेखेका छन्, 'कांग्रेस र गगन थापाजीहरुले आरोप लगाएस्तो मैले खुद आफैले फारम भरेर उक्त सहकारी बाट ॠण मागेको/लिएको प्रमाणित गरिदिनुस्, म राजनीति छोडिदिन्छु। प्रमाणित नगरे तपाईं राजनीति छोड्न तयार हो? किर्ते कागज र काइते तर्क दिएर गोलमटोल जवाफ दिन पाइदैन।'
उनले आफू संसदीय छानबिनसँग नडराएको उल्लेख गर्दै आफूलाई बोल्न दिइए कांग्रेसको संसदीय छानबिन समिति मागको दोकान तत्काल बन्द हुने बताए ।
प्रतिनिधिसभाको बैठकपछि पनि उनले प्रमाण देखाए राजनीति नै छोडिदिने र प्रमाण देखाउन नसके गगन थापाले राजनीति छोड्नु पर्ने बताएका थिए ।