चितवन: चितवनको सौराहामा जारी हात्ती सुन्दरी प्रतियोगितामा ७ वटा हात्ती सहभागी भएका छन् । चितवनको सौराहामा मंगलवारबाट शुरु भएको १७ औं संस्करणको चितवन पर्यटन तथा हात्ती महोत्सवको दोस्रो दिन आज (बुधवार) हात्ती सुन्दरी प्रतियोगिताअन्तर्गत ७ सुन्दरी हात्तीहरुको प्रतिष्पर्धा शुरु भएको हो ।
हात्ती सुन्दरी प्रतियोगितामा सेल्फिकली,समृद्धिकलि,लक्ष्मीकलि,बिजुलीकलि,रानीमायाकली,चम्पाकली र रिमझिमकलीले सहभागिता जनाएका छन् । पाँच जनाएको निर्णयक टोलीले महोत्सवको अन्तिम दिन पहिलो,दोस्रो र तेस्रो हुने सुन्दरी हात्तीको नतिजा सार्वजनिक गर्नेछ ।
महोत्सवस्थल सौराहामा न्युज एजेन्सी नेपालसँग कुरा गर्दै प्रतियोगिताको निर्णायक मण्डलका सदस्य विनोद तिमिल्सिनाले प्रतियोगिताको निर्णय आँखाको सुन्दरता, हिँडाई, शरीरको बनावट, माउतेले भनेको मान्ने, नमान्ने र रौँको अवस्था हेरेर मूल्यांकन गरिने बताए । उनले नङ फुटे नफुटेको, हिँडाइ लगायतका बारेमा मूल्यांकन गर्ने बताए । उनले निर्णयक मण्डलले आज यसको नतिजा आयोजकलाई बुझाउने र १४ गतेमात्रै निर्णय गर्ने बताए । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः १५, १० र ५ हजार रुपैयाँ पुरस्कार दिने र सहभागी सबैलाई एक हजार रुपैयाँले पुरस्कृत गर्ने बताए ।