नवलपरासी-राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकको पूर्वी खण्डमा कालोपत्रको कामलाई तीव्रता दिइएको छ । आयोजनाको पूर्वीखण्डमा पर्ने गैँडाकोटबाट दाउन्नेसम्मको ६५ किलोमिटर सडकमध्ये १८ दशमलव पाँच किलोमिटर खण्डमा कालोपत्र गरिएको छ ।
चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेशन लिमिटेडका कन्ट्रयाक्ट म्यानेजर (ठेक्का व्यवस्थापक) राकेश झाका अनुसार अहिले एकतर्फी कालोपत्रसँगै सबबेस (कालोपत्र गर्नुपूर्वको अवस्था), ठूला पुल निर्माण, सडकको दायाँबायाँ र खोला किनारमा पर्खाल निर्माणलगायतका काम भइरहेका छन् । आगामी दुई महिनाभित्र एकतर्फी ४२ किलोमिटर कालोपत्र गर्नेगरी सडक विस्तारको काम भइरहेको उनले बताए । अहिले ठूला निर्माणलाई प्राथमिकता दिँदै दाउन्ने पहाडको भित्तो काट्ने कामसमेत अगाडि बढाइएको उनको भनाइ छ ।
“पूर्वी खण्डमा पर्ने दाउन्ने पहाडको पाँच किलोमिटर पहाडमध्ये चार किलोमिटर पहाड काटेर फराकिलो पारिसकेका छौँ”, उनले भने, “बाँकी रहेको एक किलोमिटर पहाड पनि एक महिनाभित्र काटेर सक्नेगरी काम अघि बढाएका छौँ ।” दुम्कीबासतर्फबाट पहाडको भित्तो काट्दै गएको उल्लेख गर्दै पहाडको भित्तो काटेर सकेपछि दाउन्नेको पहाडमा पनि कालोपत्रको काम अगाडि बढाइने उनले बताए । अहिले गैँडाकोटको भेँडाबारीबाट झराही खोलासम्म, देवचुलीको रजहर, कावासोतीको डण्डा बजार र कावासोती बजार क्षेत्रमा कालोपत्रको काम भइरहेको छ छ ।
कावासोतीको सुक्खा खोला पुलबाट पश्चिमतर्फ करिब चार सय मिटरमा भने विवाद भएको बताइएको छ । आगामी फागुनबाट डण्डा पश्चिमतर्फ र गैँडाकोटको थुम्सी जङ्गल पूर्वतर्फको भागमा कालोपत्रको काम अगाडि बढाइने ठेक्का व्यवस्थापक झाले बताए । हालसम्म आयोजनाको पूर्वी खण्डको काममा करिब ४४ प्रतिशत प्रगति भएको जनाउँदै आगामी असारसम्म ७० प्रतिशत काम सकिने जानकारी उनले दिए ।