काठमाडौं–२०४० सालमा गजेन्द्रनारायण सिंह, रामजनम तिवारी र रामचन्द्र मिश्रलगायतले नेपाल सद्भावना परिषद् गठन गरेका थिए । यही परिषद्लाई मधेशकेन्द्रित दलको जग मानिन्छ । त्यसको चार दशक बित्दा मधेशकेन्द्रित दल कति छन्, कति टुक्रा भए, सम्भवतः मधेशकेन्द्रित दलकै नेताहरुलाई थाहा छैन । तर, किन चिरा–चिरामा विभाजन भए, योचाहिँ सबैलाई थाहा छ–स्पष्ट छ, सत्ता, पद र शक्तिका लागि ।
टुटफुटको शृंखला
गजेन्द्रनारायण सिंहलगायतले स्थापना गरेको सद्भावना परिषद् २०४६ को परिवर्तनपछि २०४७ वैशाख ३ गते नेपाल सद्भावना पार्टीका रुपमा स्थापना भयो । मधेशको हकहितका लागि खुलेको भएकाले यसप्रति मधेशका सबै नागरिकका अपनत्व थियो । र थियो मधेशको आवाज उठाउछ भन्ने विश्वास । सोहीकारण २०४८ को निर्वाचनमा सद्भावना पार्टीले ६ सिट ल्याएर आफ्नो दर्बिलो उपस्थिति देखाएको थियो । २०५१ मा तीन र २०५६ मा पाँच सिट ल्यायो । तै पनि पनि यसप्रति नागरिकको विश्वास डग्मगाएको थिएन ।
तर, गजेन्द्रनारायण सिंहको निधनपछि पार्टीमा बिस्तारै स्वार्थकेन्द्रित व्यक्तिहरु हाबी हुन थाले । मधेशका मुद्दालाई बिर्सँदै सत्ता र शक्तिलाई प्राथमिकता दिन थाले । सिद्धान्तभन्दा पदलाई प्राथमिकता दिन थाले । जानकारहरुका अनुसार २०५८ देखि २०७० को अवधिमा मात्रै सद्भावना ९ टुक्रामा विभाजन भएको थियो ।
तर, सत्तामा नेताहरू पुगेपछि मधेस मुद्दा बिर्सेको भन्दै २०५४ सालमा उपेन्द्र यादवले मधेसी जनअधिकार फोरम नामको संस्था खोले । २०६३ माघ १ गते अन्तरिम संविधान जारी भएपछि संघीयताजस्ता विषय संविधानमा समावेश नगरेको भन्दै उनले माइतीघरमा संविधानको प्रतिलिपि जलाए । प्रहरीले उनलाई पक्रियो । रिहाइको मागमा आन्दोलन चर्कियो ।
त्यसपछि मधेसी जनअधिकार फोरम र उपेन्द्र यादव मधेसको पहिचानका रुपमा स्थापित भए । २०६४ वैशाखमा मधेसी जनअधिकार फोरमले दलका रूपमा निर्वाचन आयोगबाट मान्यता पायो । त्यही बेला कांग्रेसबाट बाहिरिएका महन्थ ठाकुरले मधेसको मुद्दा उठाएर २०६४ तराई मधेस लोकतान्त्रिक पार्टी खोले । हृदयेश त्रिपाठी, महेन्द्रराय यादव, रामचन्द्र राय, वृशेषचन्द्र लाल, रामचन्द्र कुशवाह, अनिश अन्सारीलगायत नेता पार्टीमा आवद्ध हुँदै पहिलो संविधानसभा निर्वाचनमा भाग लिए । यो दलले ११ सिट जित्यो भने फोरमले ५२ सिट पायो ।
संविधानसभाको पहिलो निर्वाचनपछि पुष्पकमल दाहाल नेतृत्वको बनेको सरकारमा बलियो उपस्थित जनाए । यो समयमै फोरममा विवाद छिर्यो । भाग्यनाथ गुप्ताले २०६४ भदौमा फोरम फुटाएर मधेसी जनअधिकार फोरम, मधेस गठन गरे । त्यसपछि त फोरममा फुटको श्रृंखला नै चल्यो । अमर यादवले २०६५ चैत्रमा विभाजन गरेर मधेस तराई फोरम गठन गरे । माधव नेपालको सरकारमा जाने विषयमा विवाद भयो । संसदीय दलका नेता विजयकुमार गच्छदारले २८ सभासद्को साथ लिएर २०६६ जेठमा पार्टी फुटाए । उनले अर्का नेता शरतसिंह भण्डारीको साथमा मधेसी जनअधिकार फोरम लोकतान्त्रिक गठन गरे । भण्डारीले पनि २०६९ असारमा राष्ट्रिय मधेस समाजवादी पार्टी गठन गर्दै त्यहाँबाट निस्किए । फोरम लोकतान्त्रिकबाटै चोइटिएर गएका संजयकुमार साहले २०६७ पुसमा मधेस क्रान्ति फोरम गठन गरे ।
कांग्रेस छाडेर मधेशी जनअधिकार फोरममा पसेका जयप्रकाश गुप्ताले २०६८ जेठ ९ गते फोरमका राजकिशोर यादवसहित १३ सभासद लिएर मधेसी जनअधिकार फोरम गणतान्त्रिक पार्टी जन्माए । बाबुराम भट्टराई नेतृत्वको सरकारमा सञ्चारमन्त्री रहेकै बखत गुप्ता सर्वोच्चबाट भ्रष्टाचारी ठहर भएर जेल पुगेपछि कार्यवाहक अध्यक्ष राजकिशोर यादवले पार्टी नेतृत्व सम्हाले । फोरम गणतान्त्रिकका नन्दकुमार दत्तले ०६९ पुस ११ गते उही नामको अर्को पार्टी गठन गरे । महन्थ ठाकुर नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टी तमलोपा पनि फुट्यो । तमलोपाका तत्कालीन महामन्त्री महेन्द्रराय यादवले २०६७ पुस १६ मा तमलोपा–नेपाल नयाँ दल गठन गरे ।
राजेन्द्र महतो नेतत्वको सद्भावनाका नेता रामनरेश राय यादवले पार्टी विभाजन गरी २०६८ माघमा ‘राष्ट्रिय सद्भावना पार्टी’ खोले । रामनरेशको राष्ट्रिय सद्भावना पार्टी र तमलोपा विभाजन गरी बनेको महेन्द्रराय यादवको ‘तमलोपा–नेपाल’बीच २०७० भदौ १९ मा एकीकरण भएर तराई मधेस सद्भावना नेपाल बन्यो । त्यो पार्टीको अध्यक्ष बने महेन्द्रराय यादव । ०७४ वैशाखमा ६ वटा मधेसकेन्द्रित दलबीच एकता भएर राष्ट्रिय जनता पार्टी-राजपा गठन भयो । राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टी, अनिल झा नेतृत्वको नेपाल सद्भावना पार्टी, महेन्द्रराय यादव नेतृत्वको तराई मधेस सद्भावना पार्टी, राजकिशोर यादव नेतृत्वको मधेसी जनअधिकार फोरम (गणतान्त्रिक), शरतसिंह भण्डारीको राष्ट्रिय समाजवादी पार्टी र महन्थ ठाकुर नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टीबीच एकीकरण भएर राजपा संसद्को पाँचौं ठूलो दल बन्न पुग्यो ।
२०७६ वैशाखमा संघीय समाजवादी फोरम र बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिबीच एकता भएर समाजवादी पार्टी बन्यो । २०७७ वैशाख १० गते उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच एकता भएर जनता सामाजवादी पार्टी-जसपा बन्यो । बलियो मधेसी शक्तिको रूपमा जनता समाजवादी पार्टी बनेको थियो। तर यो पनि धेरै टिकेन । महन्थ ठाकुरले २०७८ भदौ २ गते जसपा फोरेर लोकतान्त्रिक समाजवादी पार्टी गठन गरे भने लोसपामा रहेका राजेन्द्र महतो पनि त्यहाँबाट निस्किएर अलग्गै अभियान चलाउने भन्दै हिडेका छन् ।
२०८० असारमा बाबुराम भट्टराई पनि जसपाबाट बाहिरिएर नेपाल समाजवादी पार्टी गठन गरे । त्यसपछि अहिले २०८१ वैशाखमा जसपामा रहेका अशोक राईले आफ्नै नेतृत्वमा जनता समाजवादी पार्टी गठन गरेका छन् ।
अनि मधेशको मुद्दा ?
२०६३ र २०७२ गरी दुई पटक मधेश आन्दोलन भयो । तिने मधेश आन्दोलनमाथि टेकेर मधेशकेन्द्रित दलका नेता पटक–पटक सत्तामा पुगे। तर नागरिक तथा मधेशका मुद्दाका आवाज आजकाल कहीँ कतै सुनिदैनन् । मात्र मधेशकेन्द्रित दलका नेताहरुका लागि मधेश आन्दोलन सत्ता प्राप्तिका लागि भर्याङ बन्यो ।