चितवन : चितवनको इच्छाकामना गाउँपालिकाले गाउँपालिका कार्यालयमा ‘कोल्डड्रिङ्स’ निषेध गरेको छ । स्थानीय किसानको उत्पादन दही र मोहीलाई प्रोत्साहन गर्न गाउँपालिकाले सो निर्णय गरेको हो । इच्छाकामानाको गाउँपालिका कार्यालयमा आउने अतिथिलाई गर्मीको समयमा मोही र दहीले स्वागत गरिन्छ । गाउँपालिकामा हुने विभिन्न कार्यक्रममा पनि दही र मोहीको नै प्रयोेग गरिएको छ ।
यसैबीच गाउँपालिकाले पशु सुत्केरी सुधार र बीमा कार्यक्रमसमेत सञ्चालन गरेको छ । किसानलाई पशुपालन व्यवसायमा आकर्षण गर्न र दूधको उत्पादन बढाउन उक्त कार्यक्रम सञ्चालन गरिएको अध्यक्ष गुरुङले बताउनुभयो । आन्तरिक स्रोतमार्फत गाईभैँसीको नश्ल सुधारका लागि पशु सुत्केरी स्याहार भत्ता कार्यक्रम सञ्चालन गरिएको हो । कृत्रिम गर्भधारण कार्यक्रमबाट सुत्केरी भएका गाइभैँसीको सुत्केरी भत्ताबापत गाउँपालिकाले रु एक हजार पाँच सय उपलब्ध गराउने छ । बढी दूध बिक्री गर्ने किसानलाई प्रोत्साहनस्वरुप पुरस्कार उपलब्ध गराउने तयारी रहेको अध्यक्ष गुरुङको भनाइ छ ।