Mero Chitwan
सौराहामा सुरु भयो १७औं चितवन हात्ती तथा पर्यटन महोत्सव

चितवन-चितवनको पर्यटकीय नगरी सौराहामा आजदेखि १७औं चितवन हात्ती तथा पर्यटन महोत्सव सुरु भएको छ । महोत्सवको अर्थमन्त्री प्रकाशशरण महतले उद्घाटन गरे । सो अवसरमा उनले २०२९ सालमा जारी भएको निकुञ्ज ऐन परिर्वतन गर्ने बेला भएको बताए । पुरानो निकुञ्ज ऐनले निकुञ्ज र जनताबीचको दुरी बढाउने काम गरेकाले समय अनुसार यसको परिर्वतन आवश्यक रहेको उल्लेख गर्दै उनले ऐन परिर्वतनका लागि सरकारी पहल सुरु गर्ने प्रतिबद्धता जनाए ।

'निकुञ्ज ऐनका विषयमा धेरै विरोध आएका छन्,' उनले भने, ‘अब समयसापेक्ष ऐन परिर्वतन जरुरी हुन्छ । निकुञ्ज जनताका लागि र जनता निकुञ्जको अबधारणको विकास नगरी जैविक विविधताको संरक्षण हुन नसक्ने भन्दै उनले दुबैलाई दुबै आवश्यक रहेको आभास दिलाउने गरी ऐन परिर्वतन हुनुपर्ने बताए। 

अर्थमन्त्री महतले निकुञ्जको सुरक्षा र पर्यटनसंग जोडिएको यहाँको कलासंस्कृति संरक्षणमा सरकार कटिबद्ध  रहेको बताए । कार्यक्रममा चितवन क्षेत्र नं १ का सांसद हरि ढकालले सरकारले स्रोत बाँडफाँडमा पूर्वी चितवनलाई विभेद गरेको गुनासो गरे । 

प्रदेश सांसद कृष्णप्रसाद खनालले आर्थिक मन्दीका कारण धरासायी बनेको नेपालको व्यवसायलाई पुर्नजीवन दिन नयाँ आर्थिक नीति ल्याउन अर्थमन्त्री महतलाई आग्रह गरे । रत्ननगरका मेयर प्रलाद सापकोटाले सौराहामा १४ करोड २४ लाखको लगानीमा सुरु गरिएको नमुना सडकको काम बजेटका कारणले रोकिन सक्ने अबस्था आएको भन्दै अर्थमन्त्रीको ध्यानर्कषण गराए । कार्यक्रममा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका पूर्व उपनिर्देशक युवराज रेग्मी, चितवन निकुञ्जका पशुप्राविधिक किरणराज रिजाल र राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका बरिष्ट रेन्जर ऋषिराम सुवेदीलाई संरक्षण पुरस्कार प्रदान गरिएको छ ।

महोत्सवको आयोजक संस्था क्षेत्रीय होटल संघका अध्यक्ष गंगा गिरीको अध्यक्षतामा भएको कार्यक्रममा खैरहनी नगरपालिकाका मेयर शशीकुमार खनिया, चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जापुन लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा महोत्सवका संयोजक तथा संघका उपाध्यक्ष ओमप्रकार पाण्डेले महोत्सव आयोजना गर्नुको उद्देश्यका बारेमा प्रकास पारेका थिए ।

पाँच दिनसम्म सञ्चालन हुने उक्त महोत्सवअन्तर्गत हात्ती श्रृंगार प्रतियोगिता, हात्ती वनभोज र डुंगा दौड प्रतियोगितालाई यथावत राखिएको छ । महोत्सवमा मैत्रीपूर्ण खेलकुद प्रतियोगितासँगै चितवनको पर्यटनको सम्भावना र चुनौतीसम्बन्धी अन्तरक्रिया कार्यक्रम राखिएको छ । खस्किएको चितवनको पर्यटनलाई माथि उठाउन स्थानीय सरकार, व्यवसायी र पर्यटन बोर्डले खेल्नुपर्ने भूमिकाको बारेमा छलफल गरी दायित्व बोध गराउन अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको संघका उपाध्यक्ष तथा महोत्सव मूल समारोह समितिका संयोजक ओमप्रकार पाण्डेले जानकारी दिए ।

महोत्सवमा हात्तीको दिनचर्याबारे जानकारी, स्वदेशी तथा विदेशी ट्राभल एजेन्सीहरुसँग विटुवी कार्यक्रम, स्थानीय वेशभूषा तथा कला संस्कृतिको संरक्षण, कलाकारहरूको सांस्कृतिक कार्यक्रम, स्थानीय कृषि उत्पादनको प्रर्वधनात्मक कार्यक्रम गरिने कार्यक्रम संयोजक पाण्डेले बताए । 

3-1703611415.jpg

1-1703611413.jpg

2-1703611412.jpg

प्रकाशित मिति: मंगलबार, पुस १०, २०८०  १७:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update