Mero Chitwan
अब लगानीको वातावरण बनेको छ: अर्थमन्त्री महत

चितवन: अर्थमन्त्री डा.प्रकाशशरण महतले देशको अर्थतन्त्र सुधारोन्मुख रहेको बताएका छन् । भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै अर्थमन्त्री महतले सो कुरा बताएका हुन् । अर्थमन्त्री महतले अर्थतन्त्रका सूचक सकारात्मक देखिएका बताए ।
अर्थमन्त्री महतले भने, नेपालमा भविष्य छैन, यहाँ लगानी गर्नु हुँदैन भन्ने नकारात्मक प्रचार अन्त्य भएको छ, अब लगानीको वातावरण बनेको छ । पूर्वाधारमा लगानी केन्द्रिकृत गर्ने हो भने प्रशस्त मुनाफा आर्जन हुन्छ । लगानीको वातावरण बिथोल्न खोजिएको भए पनि यसलाई चिरेर सहज अवस्थामा अर्थतन्त्र आएको उनले बताए ।
अर्थमन्त्री महतले निर्धक्क भएर लगानी र खर्च गर्न आग्रह गर्दै प्रतिफल प्राप्त हुने उद्योगमा खर्च गर्ने सरकारको नीति रहेको स्पष्ट गरे । सेयरबजार विस्तारै माथि गइरहेको र घरजग्गा कारोबारमा सुधार भइरहेको बताए ।  पर्यटन क्षेत्रको अथाह सम्भावना भएकोहूदा पर्यटन क्षेत्रमा लगानी गर्न उनले आह्वान गरे ।

विदेशी मुद्रा सञ्चिति सन्तुलित रहेको भन्दै उनले विप्रेषण पनि सकारात्मक रहेकाले अर्थतन्त्र सुधारोन्मुख रहेको दोहोर्‍याए । राष्ट्र बैंकको पछिल्लो निर्णयले अप्ठ्यारो परेका व्यवसायीलाई सम्बोधन गरेको अर्थमन्त्री महतले बताए ।उनले भने,  नीतिगत व्याजदर घटेको छ, त्यसको प्रभाव बैंकहरुमा देखिन थालेको छ ।
 

प्रकाशित मिति: मंगलबार, पुस १०, २०८०  १२:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update