नवलपरासी : विस्तारको क्रममा रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल खण्डमा ३३ किलोमिटर कालोपत्र भएको छ । बयालीस महिनामा सडक विस्तारको काम सक्ने जिम्मा पाएको निर्माण कम्पनीले ६३ महिनामा ५० प्रतिशत काम पूरा गरेको छ ।
सडक विस्तारको काम गरिरहेको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेडका ठेक्का सहव्यवस्थापक राकेश झाले हाल कावासोतीको डण्डाबाट पश्चिमतर्फ र गैँडाकोटको थुम्सीको जङ्गलमा कालोपत्रको काम चलिरहेको बताउनुभयो । अहिलेसम्म २७ प्रतिशत काम सकिएको उहाँले बताउनुभयो । देवचुलीको दुम्कौली, रजहर र गैँडाकोटमा बिजुलीको पोल सार्ने काम बाँकी नै रहेकाले सडक विस्तारमा केही ढिलाइ भएको उहाँले स्वीकार गर्नुभयो ।
गैँडाकोटबाट बुटवलसम्मको एक सय १३ किलोमिटर मध्ये निर्माण कम्पनीले गैँडाकोटबाट दाउन्नेसम्म ६४ दशमलव ४२ किलोमिटर सडकलाई पूर्वीखण्ड र दाउन्नेबाट बुटवलसम्मको ४८ दशमलव ५८ किलोमिटरलाई पश्चिमखण्डमा विभाजन गरेर काम गरिरहेको छ । एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा कुल रु १६ अर्ब ९९ करोड ५२ लाख लागतमा राजमार्ग विस्तार थालिएको हो।
राष्ट्रिय गौरवको आयोजनाका रूपमा चार लेनमा विस्तार भइरहेको सडकको सहरी क्षेत्रमा अतिरिक्त दुई लेन बताइनेछ । दाउन्ने पहाडको करिब पाँच किलोमिटर खण्डमा भौगोलिक अवस्थाका कारण जम्मा तीन लेनको सडक बन्ने निर्माण कम्पनीले जनाएको छ ।