काठमाडौं–अन्तर्राष्ट्रिय प्रहरी संगठन–इन्टरपोलको रेड कर्नर नोटिसमा नेपालका १५ अभियुक्तको नाम सूचीकृत भएको छ।
विश्वभरबाट ६ हजार ८ सय ४७ जनाको नाम इन्टरपोलको रेड कर्नर नोटिसमा रहेकोमा नेपालका १५ जनाको नाम रहेको हो ।
उक्त सूचीमा विक्रान्त थापा, वीरबहादुर मगर, सूर्यविन बहादुर तामाङ, नूर मोहम्मद अन्सारी, उमेश सापकोटा, राजेश भागादुर, प्रेम सिंह, रमेश भागादुर, चित्रा इन्द्रबहादुर साउद, शिवराज फुलचन्द शर्मा, राजबहादुर डोलबहादुर शाही, खुमराज थापा, नानु मगर, भीमे दमाइ र ठुलराम बहादुर छन्।
तीमध्ये विक्रान्त थापा र वीरबहादुर मगर केन्या प्रहरीको वान्टेड सूचीमा परेका हुन् । उनीमाथि मानव तस्करी गरेको, नक्कली ट्राभल डकुमेन्ट्स प्रयोग गरेको र केन्याको अध्यागमन कानुन प्रयोग गरेकोसहितका ६ अभियोग लगाइएको छ।
यस्तै, भारतीय प्रहरीको वान्टेड सूचीमा परेका सूर्यविन बहादुर तामाङमाथि हत्या तथा डकैतीको अभियोग छ भने अमेरिकाको सूचीमा परेका उमेश सापकोटामाथि यौन दुर्व्यवहारको अभियोग लगाइएको छ। चित्रा इन्द्रबहादुर साउद, राजेश भागादुर, प्रेम सिंह, शिवराज फुलचन्द शर्मा तथा रमेश भागादुर पनि भारतीय प्रहरीको सूचीमा परेका व्यक्ति हुन् । उनीहरुमाथि डकैती तथा चोरीको आरोप छ । यस्तै, भीमे दमाईमाथि हत्याको अभियोग छ ।
अधिकांश भारतीय प्रहरीको आग्रहमा रेड कर्नर नोटिसमा परेका व्यक्ति हुन् ।
तीन दशक अवधिमा नेपाल प्रहरीले इन्टरपोलमा १ सय ३९ वटा रेड कर्नर नोटिस जारी गरिसकेको जनाएको छ । सबैभन्दा पहिले २७ जनवरी १९९२ मा केन्द्रीय जेलबाट भागेका एक अभियुक्तविरुद्ध रेड नोटिस जारी गरिएको थियो । नेपाल प्रहरीका अनुसार अहिलेसम्म इन्टरपोलको सहयोगमा ४० दोषीलाई नेपाल ल्याइसकिएको छ, जसमध्ये १५ जना हत्या र ७ जना सुन तस्करीसम्बन्धी छन् । यस्तै, ९७ जनाविरुद्ध डिफ्युजन नोटिस जारी गरिसकिएको छ।