Mero Chitwan
संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संसद्को हिउँदे अधिवेशनबाट पारित गरिने

काठमाडौँ-संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संसदको  हिउँदे अधिवेशनबाट पारित गरिने भएको छ । आज बसेको तीन दलको बैठकमा उक्त विधेयक संसद्को आगामी अधिवेशनबाट पारित गर्ने सहमति जुटेको हो ।

प्रधानमन्त्री निवास बालुवटारमा बसेको बैठकमा संसद्को तीन ठूला दलहरूबीच सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक संसद्को आगामी अधिवेशनबाट पारित गर्ने समझदारी जुटेको हो ।

 बैठकमा सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित कानुन निर्माणका लागि संसदीय समितिमा रहेको विधेयकलाई अगाडि बढाउन दलहरुले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

 बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेकपा (एमाले)का सचेतक महेश बर्तौलाले शीर्ष नेताबीच पीडितले न्याय पाएको अनुभूति गर्नेगरी कानुन बनाउने सहमति भएको जानकारी दिए । आउँदो हिउँदे अधिवेशनबाट उक्त विधेयक संसद्मा प्रस्तुत हुने उनले बताए । सम्बन्धित दलका कानुनविद्समेतलाई राखेर भएको छलफलबाट पीडितकेन्द्रित सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुन बनाउने दिशामा दलहरू सहमत भएको उनको भनाइ छ ।

  सचेतक बर्तौलाले आफ्नो पार्टीले पीडितलाई केन्द्रित कानुन बनाउनुपर्ने अडान राखेको बताए । उनले भने, “पीडितकेन्द्रित कानुन बनाउने हो भने एमाले सहमतिसाथ जान तयार छ । प्रधानमन्त्रीले  त्यसलाई हिउँदे अधिवेशनमा मिलाएर लैजान तयार छु भन्नुभएको छ ।”

 

प्रकाशित मिति: सोमबार, पुस ९, २०८०  २३:००
प्रतिक्रिया दिनुहोस्
Weather Update