Mero Chitwan
हात्ती महोत्सवको उद्घाटन अर्थमन्त्री महतले गर्ने

चितवन : चितवनको सौराहामा भोलिदेखि सुरु हुने चितवन हात्ती तथा पर्यटन महोत्सवको उद्घाटन अर्थमन्त्री डा. प्रकाशशरण महतले गर्ने भएका छन् । महोत्सव क्षेत्रीय होटल संघ चितवन सौराहाको आयोजनामा हुन लागेको हो । 

पुस १० गतेदेखि १४ गतेसम्म सौराहाको मैनाहाचौरमा महोत्सव आयोजना गरिनेछ । महोत्सव सुरु हुनुपूर्व सौराहामा बिहान शोभायात्रा निकालिने छ । विगतमा गरिएको हात्ती महोत्सवलाई केही परिमार्जन गरी १७औँ संस्करण गरिने आयोजकले जनाएका छन् ।

यस वर्षको पर्यटन महोत्सवको मुख्य आर्कषण हात्ती सुन्दरी प्रतियोगिता रहेको संघका अध्यक्ष गंगा गिरीले जानकारी दिए । महोत्सवलाई आर्कषक बनाउन यहाँका व्यवसायीहरूले चित्रसारी पुलदेखिनै सौराहालाई सजाएका छन् । महोत्सव स्थललाई ध्वजापताकाले सजाइएको छ । 

चालु आर्थिक वर्षमा मात्र सौराहामा स्वदेशी तथा विदेशी गरी २ लाख २५ हजार पर्यटक आएका छन् । तीमध्ये एक लाख ३० हजार जना पर्यटकले निकुञ्ज अवलोकन गरेको तथ्याङ्कले देखाएको छ । इतिहासमै पहिलोपटक कोरोनाकालमा बन्द भएको सौराहाको पर्यटन चलायमान हुन थालेपछि यहाँका व्यवसायीहरूले पर्यटकीय गतिविधि सुरु गरेका हुन् । साविकको हात्ती महोत्सवलाई परिमार्जन गर्ने भन्दै यसपटकको महोत्सवमा हात्ती दौड, हात्ती फुटबल र हात्ती पोलो हटाइएको छ ।

पाँच दिनसम्म सञ्चालन हुने उक्त महोत्सवअन्तर्गत हात्ती श्रृंगार प्रतियोगिता, हात्ती वनभोज र डुंगा दौड प्रतियोगितालाई यथावत राखिएको छ । महोत्सवमा मैत्रीपूर्ण खेलकुद प्रतियोगितासँगै चितवनको पर्यटनको सम्भावना र चुनौतीसम्बन्धी अन्तरक्रिया कार्यक्रम राखिएको छ । खस्किएको चितवनको पर्यटनलाई माथि उठाउन स्थानीय सरकार, व्यवसायी र पर्यटन बोर्डले खेल्नुपर्ने भूमिकाको बारेमा छलफल गरी दायित्व बोध गराउन अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको संघका उपाध्यक्ष तथा महोत्सव मूल समारोह समितिका संयोजक ओमप्रकार पाण्डेले जानकारी दिए ।

महोत्सवमा हात्तीको दिनचर्याबारे जानकारी, स्वदेशी तथा विदेशी ट्राभल एजेन्सीहरुसँग विटुवी कार्यक्रम, स्थानीय वेशभूषा तथा कला संस्कृतिको संरक्षण, कलाकारहरूको सांस्कृतिक कार्यक्रम, स्थानीय कृषि उत्पादनको प्रर्वधनात्मक कार्यक्रम गरिने कार्यक्रम संयोजक पाण्डेले बताए । महोत्सवको उद्घाटन समारोहमा संरक्षण र पर्यटन विकासका योगदान दिएका अग्रज, उत्कृष्ट नेचरगाइड, संरक्षणकर्मी, माउते, डुंगा चालक, जीप सफारी चालक तथा सीप र कलाप्रेमीहरूलाई सम्मान गर्ने कार्यक्रम तय भएको संघका महासचिव गुणराज थपलियाले जानकारी दिए ।

युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था र रेवान सौराहा सह–आयोजक रहेको सो महोत्सवमा नेपाल पर्यटन बोर्ड र संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय प्रवद्र्धक तथा रत्ननगर नगरपालिका संरक्षक रहेका छन् ।

प्रकाशित मिति: सोमबार, पुस ९, २०८०  २२:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update