Mero Chitwan
युद्धका कारण निम्तिएको एउटा सांस्कृतिक विभाजन

काठमाडौं (एजेन्सी)–रुस र युक्रेनबीच लामो समयदेखि राजनीतिक द्वन्द्व र युद्ध भए पनि धार्मिक र सांस्कृतिक रुपमा गहिरो सम्बन्ध थियो । दुवै मुलुकमा जुलियन क्यालेन्डर अनुसार जनवरी ७ मा क्रिसमस मनाइने गरिन्थ्यो। तर, २ वर्षदेखि रुसी आक्रमण भोगिरहेको युक्रेनले अब बाँकी विश्वसरह डिसेम्बर २५ मै क्रिसमस मनाउँदैछ । 

यसलाई आफ्नो मुलुकमा पूरै रुसी प्रभाव समाप्त पार्ने युक्रेनको सांस्कृतिक प्रयासका रुपमा लिइएको छ। सन् १९१७ पछि युक्रेनमा पहिलोपटक आजका दिन क्रिसमस मनाउन लागिएको हो। युक्रेनले गत जुलाईमै डिसेम्बरमा क्रिसमस मनाउने निर्णय गरेको हो । 

क्रिसमसको नयाँ बिदासम्बन्धी कानुनमा हस्ताक्षर गर्दै युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले भनेका थिए, ‘युक्रेनीहरु आफ्नै परम्परा र बिदाका साथ आफ्नै परम्परा जिउन चाहन्छन् ।’ आइतबार दिएको क्रिसमस सन्देशमा उनले सबै युक्रेनीलाई एकजुट भएर क्रिसमस मनाउन आग्रह गरेका छन् । अब युक्रेनमा जुलियन क्यालेन्डरअनुसार नभई बाँकी विश्वसरह ग्रेगरियन क्यालेन्डरअनुसार क्रिसमस मनाइनेछ । 

सन् २०१९ मा स्थापना भएको अर्थोडक्स चर्च अफ युक्रेनले पनि क्रिसमस मितिलाई २५ डिसेम्बरमा सारेको छ । 
सत्रौं शताब्दिदेखि हालसम्म युक्रेन मस्कोको धार्मिक नेतृत्वअन्तर्गत रहँदै आएको थियो। 

तर, अझैं लाखौं मानिसहरु रुसी अर्थोडक्स चर्चमा विश्वास गर्छन् । त्यसैले युक्रेनमा आगामी जनवरी ७ मा पनि क्रिसमस मनाइने छ । 
 

प्रकाशित मिति: सोमबार, पुस ९, २०८०  ०८:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update