Mero Chitwan
नेपाल र कतारबीच लगानी एवं सहकार्य बिस्तारका लागि कार्यसमूह निर्माण गर्ने समझदारी

काठमाडौँ । नेपाल र कतारबीच लगानी एवं सहकार्यका विविध क्षेत्रमा सहजीकरण गर्नका लागि दुवै देशका तर्फबाट ‘कार्यसूमह’ गठन गर्ने समझदारी भएको छ ।

कतारका अमिर शेख तमिम विन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज भएको एक्लाएक्लै र द्विपक्षीय प्रतिनिधिमण्डलस्तरीय भेटवार्तामा सो समझदारी भएको प्रधानमन्त्रीका परराष्ट्र मामिलासम्बन्धी सल्लाहकार डा रुपक सापकोटाले जानकारी दिए।

“लगानी र सहकार्यका क्षेत्रलाई बिस्तार गर्ने विषयमा छलफल गर्नका लागि दुई देशका तर्फबाट बीचमा ‘टिम’ निर्माण गरेर अगाडि बढ्ने समझदारी बनेको छ”, उनले भने ।  

भेटमा कतार र नेपाल सम्बन्ध एवं सहकार्यका विविध विषयमा कुराकानी भएको थियो । सो अवसरमा नेपालमा विभिन्न क्षेत्रमा लगानी गर्नेसम्बन्धमा व्यापक छलफल भएको परराष्ट्र सल्लाहकार सापकोटाले जानकारी दिए । 

प्रधानमन्त्री दाहालले अरब राष्ट्रबाट उच्च तहमा पहिलोपटक कतारका अमिरको नेपाल भ्रमण भएको उल्लेख गर्दै यस भ्रमणबाट दुई देशबीचका सम्बन्धमा नयाँ आयाम थपिएको बताउनुभयो । भेटवार्तामा दुवै नेताले यस भ्रमणबाट दुई देशबीचको मित्रवत् र हार्दिक सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याएको उल्लेख गर्नुभएको सापकोटाले जानकारी दिए । 

भेटका क्रममा प्रधानमन्त्री दाहालले नेपालमा लगानीको उपयुक्त वातावरण रहेको उल्लेख गर्दै नेपालमा कतारको लगानीका लागि आग्रह गर्नुभयो । “लगानीका लागि सम्भावित क्षेत्र पहिचान गरिएका छन्, पूर्वाधार, यातायात, कृषि, जलविद्युत्, शिक्षा क्षेत्रमा दुई देशबीच सहकार्य हुर्नुपर्छ”, प्रधानमन्त्री दाहालको भनाइ उद्धृत गर्दै डा सापकोटाले भने । 

नेपालमा लगानीका लागि प्रधानमन्त्री दाहालले राख्नुभएको आग्रहलाई कतारका अमिर अल थानीले सकारात्मक रुपमा लिनुभएको उहाँले जानकारी दिनुभयो । कतारका अमिरले ऊर्जा, यातायात हवाई सम्पर्क बिस्तार, कृषिलगायत क्षेत्रमा सहकार्य गर्न कतार सकारात्मक रहेको बताएका थिए । 

भेटमा प्रधानमन्त्री दाहालले नेपाल र कतारबीचको श्रम सहकार्यलाई नयाँ ढङ्गबाट अघि बढाउन आग्रह गरेका थिए । कतारका अमिरले श्रम सहकार्यलाई थप बिस्तार गर्न सकिने उल्लेख गरे। नेपाली श्रमिकको सीप अभिवृद्धिका लागि सघाउन तथा हवाई सम्पर्कसञ्जाल बिस्तारका लागि कतार तयार भएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कतार एयरका तर्फबाट उडान गर्न सकिने उनको भनाइ थियो । 

प्रधानमन्त्री दाहालले युद्ध र द्वन्द्वको शान्तिपूर्ण समाधानका लागि कतारले गर्दै आएको मध्यस्थता भूमिकाको प्रशंसा गर्दै इजरायलमा हमासको आक्रमणमा परी बेपत्ता भएका नेपाली विद्यार्थी विपिन जोशीको सकुशल स्वदेश फिर्तीका लागि अमिरको ध्यानाकर्षण गराएका थिए । 

 

प्रकाशित मिति: बुधबार, वैशाख १२, २०८१  १४:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update