Mero Chitwan
अमेरिकाले देख्यो नेपालमा पृथक राजनीतिक हिंसाको सम्भावना  

काठमाडौं–अमेरिकाले नेपालमा पृथक राजनीतिक हिंसाको सम्भावना रहेको दाबी गर्दै नेपाल भ्रमण गर्दा सावधानी अपनाउन आफ्ना नागरिकलाई आग्रह गरेको छ। 

अमेरिकी विदेश मन्त्रालयले नयाँ ट्राभल एडभाइजरी जारी गर्दै नेपाल भ्रमण गर्दा सावधानी अपनाउन भनेको हो । 

‘पृथक् राजनीतिक हिंसाको सम्भाव्यताका कारण नेपाल यात्रा गर्दा सावधानी बढाइएको छ । शान्तिपूर्ण हुन खोजेका राजनीतिक प्रदर्शनहरू कहिलेकाहीं हिंसामा परिणत हुन सक्छन् र नेपाली (सुरक्षा) अधिकारीहरूले बल प्रयोग गर्न सक्छन्,’ उक्त ट्राभल एडभाइजरीमा भनिएको छ ।

विदेश मन्त्रालयले आफ्ना नागरिक कसैले नेपाल भ्रमण गर्ने निर्णय गरेको भए प्रदर्शन र भीडबाट बच्न पनि सुझाव दिएको छ । साथै, नेपालका निकुञ्ज वा संरक्षित क्षेत्रहरूमा पदयात्रा गर्दा एकल वा विदेशी स्वतन्त्र यात्रीलाई स्थानीय गाइड वा भरिया प्रयोग गर्नुपर्ने नेपालका सरकारी आवश्यकता पूरा गर्न पनि उक्त एडभाइजरीमा भनिएको छ ।

अमेरिकी विदेश मन्त्रालयले नेपाल भ्रमणका लागि गत असार ८ मा ल्याएको ट्राभल एडभाइजरीमा ६ महिनापछि अद्यावधिक गर्दै नयाँ ल्याएको हो । 
 

प्रकाशित मिति: सोमबार, पुस ९, २०८०  ०७:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update