काठमाडौं - सुन तस्करीबारे छानबिन गर्न त्रिभुवन विमानस्थलको भन्सार विभागले गठन गरेको समितिले गोरखाका मीनबहादुर घले र चन्द्र घलेसम्मिलित समूहले १३८ किलो सुन भित्र्याएको निष्कर्ष निकालेको छ ।
समितिले आज प्रतिवेदन सार्वजनिक गर्दै नेपालमा सुन तस्करीको नयाँ सञ्जालको खुलासा गरेको हो ।
साथै विमानस्थलबाट सुन बाहिर निकाल्न कर्मचारीको पनि संलग्नता देखिएको प्रतिवेदनमा उल्लेख छ ।
२२ मंसिरमा दुबईबाट काठमाडौं आएका चन्द्रलाई भन्सार कार्यालयले १४ किलो सुनसहित पक्राउ गरेको थियो । त्यसक्रममा गोरखाका मीनबहादुरसमेत पक्राउ परेका थिए ।
‘पटक-पटक गरी मीनबहादुर घले, चन्द्र आले र कृष्णकुमार श्रेष्ठले जम्मा १३८ केजी सुन ल्याएर विमानस्थलबाट सेटिङ मिलाएर बाहिर ल्याउने गरेकोमा पछिल्लोपटक चन्द्र घलेले ल्याएको १४ केजी मात्र पक्राउ परेको देखिन्छ,’ छानबिन समितिले भनेको छ । (हेरौं समितिले तयार पारेको सुन तस्करी सञ्जालसम्बन्धी भिडियो)
समितिको अनुसन्धान अनुसार मीनबहादुरले दुबईमा रहेका अंकित अग्रवाल नाम गरेका व्यक्तिसँग सम्पर्क गरी नेपालमा सुन तस्करीको व्यवस्था मिलाएका थिए ।
विमानस्थलबाट सुन निकाल्न नागरिक उड्ययन कार्यालयका एसी बनाउने राधाकृष्ण श्रेष्ठ, कार्यालय सहयोगी लेकबहादुर तामाङ, करारका पूर्वकर्मचारी रमेश देउला, एसी शाखामै काम गर्ने कार्यालय सहयोगी अनिल श्रेष्ठ र प्लम्बर शेरबहादुर बस्नेतले भूमिका खेलेको समितिले निष्कर्ष निकालेको छ ।