कुनै पनि फिल्म हेरेर यति निराश त म सायदै भएको थिएँ । सिनेमा के बन्यो भन्ने सवाल अर्थपूर्ण भएपछि नै यो कस्तो शिल्पले बन्यो भन्ने दोस्रो सवालमा प्रवेश गर्न सकिन्छ । ‘द रेड सुटकेस’ पहिलो सवालमै दुर्घटनाग्रस्त छ ।
अरबबाट आएको शव र रातो सुटकेस लिएर काठमाडौँबाट एउटा जिप सिन्धुलीको बेयुल गाउँ गइरहेको हुन्छ । चालक एक रात बाटोमै वास बसेकै ठाउँबाट रातो सुटकेस गुडाउँदै धनबहादुर विक बेयुलस्थित घर पुग्छ र राति श्रीमतीसँग सुत्छ । भोलिपल्ट बिहान झिसमिसेमै दर्शकलाई आश्चर्यचकित पार्दै र पत्नीलाई शोकमा डुबाउँदै धनबहादुरको लास जिपमा आइपुग्छ ।
स्थिति बडो रहस्यमयझैँ लाग्छ । तर दर्शकलाई हिस्स पार्दै कुरा खुल्छ, अघिल्लो दिनै आएर श्रीमतीसँग सुतेको त धनबहादुर विकको आत्मा पो रहेछ । जिप चालक फर्कंदा बीच बाटोस्थित एउटा घरमा जान्छ जहाँ अघिल्लो रात मात्र ऊ वास बसेको थियो । गरिब र दीनहीन पसलेले ल्याकतले भ्याएसम्म उसलाई आतिथ्य प्रदान गरेको थियो । भोलिपल्ट थाहा हुन्छ, त्यो पसलेले त तीन महिनाअघि नै आत्महत्या गरिसकेको रहेछ ।
सिनेमामा हरेक दृश्यांश तर्कपूर्ण हुनु पर्छ । यसमा त प्लटमै कुनै तर्क छैन । यहाँ थुप्रै दृश्यांश रहस्यझैँ फोकस गरिन्छ तर निरर्थक । सिनेमामा मूलतः दृश्य बोल्नुपर्छ । यहाँ संवादबाट कथा भन्न खोजिएको छ । संवाद कति लोसो छ भने दर्शकको धैर्यको बाँध भत्केलाझैँ हुन्छ ।
निर्देशक फिडेल देवकोटाले यस्तो कहीँ भोगेका होलान् जहाँ अघिल्लो दिन उनलाई स्वागत गरेको साहूजीले तीन महिनाअघि नै आत्महत्या गरिसकेको होस् ? यस्तो अर्थहीन, भुइँफुट्टा फुँदा गाँसेर निर्देशकले के सन्देश दिन खोजेका हुन् ? ‘नेपाल युवाविहीन हुँदैछ । यहाँ सरकार छ र ? गरिब र पीडितका लागि कहिले पो सरकार थियो र ?’ जस्ता पलायनमुखी भाष्य सिनेमाले उठाउने कुरा हो र ? यस्तो निराशाविरुद्ध कुनै प्रेरणा नदिने सिनेमाले कथ्य शैलीमा जति नै उच्च शिल्प प्रयोग गरे पनि निरर्थक हुन्छ । यो बेग्लै कुरा हो, फेसियल एक्प्रेसनबाटै शब्दभन्दा धेरै बोल्ने सृष्टि श्रेष्ठ र विपिन कार्कीको बेजोड अभिनय यस फिल्मको आकर्षण हो । सौगात मल्ल ठिकठाक छन् ।
मुख्य कुरा, पहिलो सवाल नै दुर्घटनाग्रस्त भएपछि बाँकी कुरा त्यसै गौण हुन पुग्छन् ।
(लेखक अभय श्रेष्ठको फेसबुकबाट )