आज राम नवमी, भगवान् श्रीरामको पूजा आराधना गरी मनाइँदै
काठमाडौँ-आज चैत शुक्ल नवमी अर्थात् रामनवमी, देशका विभिन्न भागमा रहेका राम मन्दिरका साथै घर–घरमा मर्यादा पुरुषोत्तम श्रीरामको श्रद्धा, भक्तिपूर्वक पूजा आराधना गरी मनाइँदैछ ।
काठमाडौँ उपत्यकाको बत्तीसपुतलीस्थित राम मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ । आज जनकपुरधामस्थित रामजानकी तथा जानकी मन्दिरमा पनि पूजाअर्चना गर्न भक्तजनको घुइँचो लागेको छ । भारतबाट समेत हजारौँ श्रद्धालु भक्तजन सहभागी भई पवित्र गङ्गासागरमा स्नान गरी रामजानकी मन्दिरमा पूजाआजा गर्दछन् । आज स्नान गरी पवित्र भएर व्रत बस्ने गरिन्छ भने रामगीता र रामायण पाठ पनि गरिन्छ । रामभक्तियुक्त भजनकीर्तनका साथ राति जाग्राम बस्ने परम्परा पनि छ ।
प्रकाशित मिति: बुधबार, वैशाख ५, २०८१ ०७:००
प्रतिक्रिया दिनुहोस्