Mero Chitwan
सुप्रिम सहकारीबाट रवि लामिछानेको खातामा १ करोड ८० लाख गएको पुष्टि [अभियोजनसहित] 

काठमाडौं-बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालयले रुपन्देही जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ ।

तर सहकारीबाट एक करोड ८० लाख रुपैयाँ रवि लामिछानेको खातामा गएको पुष्टि भए पनि लामिछानेलाई प्रतिवादी भने बनाइएको छैन । 

सरकारी वकिल कार्यालय रुपन्देहीले बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा जीबी राई, दीपेश पुन, सागर केसीलगायत २८ जनालाई प्रतिवादी बनाएर सोमबार अभियोगपत्र दर्ता गरेको हो । तर, सहकारीको खाताबाट रवि लामिछानेको खातामा एक करोड ८० लाख रुपैयाँ पठाएको पुष्टि भए पनि उनलाई प्रतिवादी भने बनाइएको छैन । सुप्रिम सहकारीबाट रकम पठाएका सञ्चालकहरुको विवरणमा भने गोर्खा मिडिया नेटवर्क प्रालिका नाममा लामिछानेको खातामा एक करोड ८० लाख गएको देखिन्छ ।

ss-1713199655.JPG

अभियोगपत्रमा २८ जनाबाट ८६ करोड १८ लाख २३ हजार सात सय ५४ रुपैयाँ बिगो माग दाबी गरिएको छ । सहकारी ऐन २०७४ को दफा १२२ को कसुरमा, दफा १२४ को उपदफा १ अन्तर्गत सजाय गर्न माग गर्दै जिल्ला सरकारी वकिल कार्यालयले अदालतसमक्ष अभियोगपत्र पेस गरेको हो । उनीहरुलाई आठ वर्षसम्म कैद तथा दाबी गरिएअनुसारको बिगो भराउन माग गरिएको छ ।

प्रतिवादीमा सहकारीका पदाधिकारी, पूर्वपदाधिकारी, कर्मचारी तथा रकम हिनामिना गरेका ऋणीहरु रहेको जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीले जनाएको छ । 

प्रतिवादी बनाइएकामध्ये आठजना पक्राउ परिसकेका छन् । सहकारीका पूर्वसचिव रहेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेशले तीन लाख रुपैयाँ पेस्की लिएको अभियोगपत्रमा उल्लेख छ । एक हजार आठ सय २८ जना सहकारी पीडितको जाहेरीपछि प्रहरीले सहकारी ठगीको संगठित अपराधमा ५८ दिन लामो अनुसन्धानपछि गत शुक्रबार अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको थियो ।

बुटवल र भैरहवालाई केन्द्र बनाएर सुप्रिम सहकारीले एक अर्ब दुई करोड रुपैयाँ बचतकर्ताबाट उठाएको छ । जसका आठ हजार बढी बचतकर्ता छन् । सहकारीले गैरसदस्यलाई समेत रकम लगानी गर्दै आएको थियो ।

सुप्रिम सहकारीको १० करोड ९९ लाख रुपैयाँ गोर्खा मिडिया ग्रुपमा लगानी गरेको अदालतमा दायर अभियोजनपत्रमा उल्लेख छ । त्यस्तै गोर्खा मिडिया ग्रुपकै सञ्चालक रहेका रवि लामिछानेको नाममा दुई करोड व्यापारकर्जा स्वीकृत गराएर लगिएको आरोप पत्रमा छ । ती रकम कुनै प्रक्रिया पूरा नगरी गोर्खा मिडिया ग्रुपमा लगानी भएको जिल्ला सरकारी वकिल कार्यालयको अभियोजनपत्रमा उल्लेख छ । रवि लामिछानेको नाममा २०७७ चैत १८ गते २ करोड स्वीकृत भएकामा एक करोड ९६ लाख गोर्खा मिडियाको खातामा जम्मा भएको देखिएको हो ।

सुप्रिमको १० करोड ९९ लाख ३६ हजार रुपैयाँ गोर्खा मिडियामा मात्रै लगानी भएको देखिएको छ । प्रहरीको अनुसन्धान प्रतिवेदन र जिल्ला सरकारी वकिल कार्यालयले गोर्खा मिडियाकै अध्यक्ष जीबी राई र कुमार रम्तेल समेतलाई प्रतिवादी बनाएको छ । ठगी र संगठित अपराधमा प्रहरीले अनुसन्धान पूरा गरेर शुक्रबार रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाएको थियो ।

 

प्रकाशित मिति: सोमबार, वैशाख ३, २०८१  २२:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update