चितवन । चितवनको रत्ननगर नगरपालिकाका बासिन्दाले क्यान्सरको उपचारमा थप सहुलियत पाउने भएका छन्।
क्यान्सरपीडित बिरामीलाई सङ्घ सरकारले एक लाख र प्रदेश सरकारले ५० हजार सहुलियत दिँदै आएकामा नगरपालिकाले थप २५ हजार दिने निर्णय गरेको हो।
रत्ननगर नगरपालिकाको विशेष नगरसभाले क्यान्सरपीडितलाई सामाजिक उत्तरदायित्व अन्तर्गत २५ हजार सहयोग उपलब्ध गराउने घोषणा गरेको नगर प्रमुख प्रह्लाद सापकोटाले जानकारी दिए। उनले छिट्टै बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरसँग सहयोगसम्बन्धी सम्झौता गरिने जानकारी दिए।
क्यान्सर उपचार गराइरहेका पालिकाभित्रका व्यक्तिले सङ्घ र प्रदेश सरकारबाट खर्च लिइसकेपछि नगरपालिकाले सहयोग रकम उपलब्ध गराउने उनको भनाइ छ। हाल रत्नगरका दुई सय सातजना क्यान्सरका बिरामी उपचाररत रहेको नगरपालिकाले जनाएको छ।