Mero Chitwan
सगरमाथाको अंग्रेजी नाम पनि सगरमाथा नै राख्न सुझाव

काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथाको नाम अङ्ग्रेजीमा पनि सगरमाथा नै राख्न विज्ञहरुले सुझाव दिएका छन् । सगरमाथालाई अङ्ग्रेजीमा माउन्ट एभरेष्ट भन्ने गरिएको छ ।  

इतिहास शिरोमणि बाबुराम आचार्य स्मृति प्रतिष्ठानले आइतबार गरेको सञ्चारकर्मीसँगको अन्तरक्रियामा विज्ञहरुले नेपालका अन्य हिमालको नाम नेपालीकरण मात्र रहेको जस्तै सगरमाथाको नाम पनि एउटै हुनुपर्ने तर्क गरे । 

कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष एवं इतिहासविद् प्राडा त्रिरत्न मानन्धरले इतिहास शिरोमणि आचार्यले सगरमाथाको नाम चिनाएको ऐतिहासिक तथ्यबारे जानकारी गराएका थिए । इतिहास शिरोमणि आचार्यले सर्वप्रथम १९९५ सालमा लेखमार्फत् सर्वोच्च शिखरको नाम सगरमाथा हो भनी उल्लेख गरेका थिए ।  

प्राडा मानन्धरले भने, “सगरमाथाको नाम अंग्रेजीमा पनि सगरमाथा नै उल्लेख गर्दा सुरुमा केही अफ्ठ्यारो हुने अवस्था आएमा सगरमाथासँगै कोष्ठभित्र ‘माउन्ट एभरेष्ट’ राख्न सकिन्छ तर मौलिक नाम सगरमाथा भने छुटाउनु हुँदैन ।” यस सम्बन्धमा निकट भविष्यमै नेपाल सरकारलाई ज्ञापनपत्र बुझाएर सुझाव दिने उनले बताए। 

कार्यक्रममा प्रा सुरेन्द्र केसीले राष्ट्रियताअनुसार शाब्दिक फेरबदल हुने गरेको बताए । उनले यस्तो फेरबदल गर्दा शुद्धता र सही सूचना पनि आवश्यक पर्ने बारेमा जानकारी गराए । 

प्रकाशित मिति: आइतबार, वैशाख २, २०८१  २०:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update