
इस्लामाबाद-पाकिस्तानको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री इमरान खानलाई राज्यको गोपनीयता सार्वजनिक गरेकोसम्बन्धी एक मुद्दामा जमानतमा रिहा गर्न आदेश दिएको छ ।
सर्वोच्च अदालतको तीन सदस्यीय इजलासले खान र उनको दलका उपनेता तथा पूर्व विदेशमन्त्री साह महमुद कुरेशीलाई जनही दश लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
वासिंटनस्थित पाकिस्तानी राजदूतले प्रेषित गरेको कूटनीतिक सन्देशलाई सार्वजनिक गरेर सरकारी गोपनीयतासम्बन्धी कानुनको उल्लंघन गरेको आरोप खान तथा कुरेशीमाथि लगाइएको छ ।
खानले भने सो पत्र मिडियाले अन्य स्रोतबाट खुलासा गरेको र त्यसमा आफ्नो गल्ती नभएको जिकिर गर्दै आएका छन् । खानमाथिको सो मुद्दा विशेष अदालतमा विचाराधीन छ भने उनी आदियाला जेलमा बन्दी छन् ।
सर्वोच्चले जमानतमा रिहा गर्ने आदेश दिए पनि उनी तत्कालै जेलबाट रिहा हुने वा नहुने स्पष्ट भएको छैन ।