काठमाडौं-आजदेखि नयाँ वर्ष २०८१ सुरु भएको छ । नयाँ वर्षको पहिलो दिन आज देश-विदेशमा रहेका नेपालीहरुले एकआपसमा शुभकामना आदानप्रदान गरेर मनाउँदै छन् । आज देशभर सार्वजनिक बिदा दिइएको छ ।
नयाँ वर्षमा शुभकामना आदानप्रदानका साथै साँस्कृतिक उत्सव आयोजना गर्दै विशेष पर्वका रुपमा मनाउने गरिन्छ । आजको दिन नयाँ कामको थालनी गर्ने चलन पनि छ । आज बिहानै स्नान गर्ने, मन्दिर वा आफ्नो आस्था अनुरुपको धार्मिक स्थलमा जाने, घर सफा गर्ने, मिठो-मिठो खाने, साथीभाइ तथा इष्टमित्रसँग भेटघाट गरी एक आपसमा शुभकामना व्यक्त गर्ने गरिन्छ । नयाँ वर्षको पहिलो दिन राम्रो सुरुआत भए वर्षभर सफलता मिल्ने जनविश्वास छ ।
विक्रमादित्यले चलाएको सम्वत् भएकाले यो सम्वतलाई विक्रम संवत् भनिएको हो । मल्ल कालदेखि नेपालमा मौलिक संवतका रूपमा विक्रम संवत् चलेको हो । नेपालमा मात्र मौलिकरुपमा यो संवत् चल्छ । भारतमा सरकारी संवत् शक सम्वत भए पनि व्यवहारमा इस्वी संवत् चलेको छ ।