चितवन-चितवनमा भोलि बैशाख १ देखि २९ औं वन्यजन्तु सप्ताह सुरु हुने भएको छ । हरेक वर्ष वन र वन्यजन्तु संरक्षणमा दीर्घकालीन प्रभाव पर्ने खालका गतिविधि आयोजना गरी सप्ताह मनाइँदै आएकोमा यस वर्ष पनि निरन्तरता दिइएको हो ।
निकुञ्जसहित संरक्षण र पर्यटनसंग सम्बन्धित संघसंस्थाहरुको सहकार्यमा सप्ताह मनाइन्छ । रत्ननगरको बछौलीमा रहेको मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिले शुक्रबार पत्रकार सम्मेलन आयोजना गरी वन्यजन्तु सप्ताहबारे जानकारी दिएको हो । 'वन्यजन्तुको संरक्षण : पर्यापर्यटन र आयआर्जन' भन्ने मुल नाराका साथ मनाउन लागिएको सप्ताहमा संरक्षण र जीविकोपार्जनलाई जोड दिइएको मृगकुञ्जका अध्यक्ष दुर्गाप्रसाद घिमिरेले बताए ।
सप्ताहव्यापी कार्यक्रमअन्तर्गत बैशाख १ गते उद्घाटन, २ गते टिकौली हाइबे वरपर सरसफाई, ३ गते चरा अबलोकन, ४ गते वन्यजन्तु संरक्षण मुलक विद्यालयस्तरीय चित्रकला प्रतियोगिता, सोही दिन वन्यजन्तु र मानिस बीचको सहअस्तितवसम्बन्धी विद्यालयस्तरीय बक्तृत्वकला प्रतियोगिता, ५ गते डुंगा सयर, ६ गते वन,वन्यजन्तु र बाताबरण संरक्षणमूलक सचेतना रयाली गरिने छ।
सप्ताहको अन्तिम दिन बैशाख ७ गते वन, वन्यजन्तु तथा जैविक विविधता संरक्षणमा सम्भावना र चुनौती विषयक अन्तक्र्रिया र संरक्षणमा योगदान दिएकाहरुलाई विभिन्न विधामा सम्मान गरिने अध्यक्ष घिमिरेले बताए । मृगकुञ्जको अगुवाईमा निकुञ्ज, स्थानीय सरकार, राष्ट्रिय प्रकृति संरक्षण कोष सहित सामुदायिक वन, सौराहाको पर्यटनसंग सम्बन्धित संघसंस्था गरी २६ वटा संघसंस्थाको सहकार्यमा सप्ताह मनाइँदै छ । कार्यक्रममा बाघमारा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष जीतु तामाङ, समुदायमा आधारित चोरी शिकार नियन्त्रण युवा जागरण अभियानका अध्यक्ष बसन्त राना, नेचर गाइड एशोसियसनका अध्यक्ष अनिल गुरुङ लगायतको सहभागिता थियो ।