Mero Chitwan
सारियो भरतपुर भ्रमण वर्ष २०२४ को समय , उद्घाटन मितिको टुङ्गो पछि लगाइने

चितवनः  अंग्रेजी नयाँ वर्ष सन् २०२४ को जनवरी १ बाट सुरु गर्न लागिएको भरतपुर भ्रमण वर्ष–२०२४ केही समयका लागि सर्ने भएको छ ।  भरतपुर महानगरपालिकाको कार्यपालिको शुक्रबार बिहान बसेको बैठकले भ्रमण वर्ष केही समयका लागि सार्ने निर्णय गरेको हो ।  आउँदो पुस २२ गते बस्ने बैठकले नगरपरिषद्बाट थप कार्यक्रम तय गर्ने निर्णयसमेत गरेको छ ।

मुख्य बजार क्षेत्रमै सडक अस्तव्यस्त भएपछि भ्रमण वर्ष सार्न निजी क्षेत्रले समेत सुझाव दिएको थियो । सोही आधारमा केही समय पछि गर्ने गरी भ्रमण वर्षको समय सारिएको हो ।   आगामी पुस २२ गतेको नगरपरिषद् बैठकलेअब भ्रमण वर्ष २०२४ को उद्घाटन कहिले गर्ने भन्ने मिति तय गर्नेछ ।

महानगरपालिकाले भ्रमण वर्षका लागि सरसफाइ, हरियाली प्रवद्र्धनलगायतका काम तदारुकताका साथ गरेको भए पनि नारायणगढ–मुग्लिन सडकखण्डमा पुल निर्माणका लागि दिउँसोको समयमा चारघण्टासम्म यातायात रोकेर काम गर्ने तयारी गरिएको्, पुल्चोक–गोन्द्राङ सडकको कामसमेत अपूर्ण रहेको, महानगरपालिकाको मुख्य प्रवेशद्वार क्षेत्रमै काम पूर्ण नभएकोले अहिले नै भ्रमण वर्ष उद्घाटन नगर्न निजी क्षेत्रले सुझाव दिएको थियो ।

त्यस्तै भ्रमण वर्षमा पर्यटकका लागि देखाउन तयार पार्ने भनिएको दियालो दरबार मर्मतसम्भारको काम बाँकी रहेको, पर्यटकलाई देखाउने बाघ राख्ने खोर निर्माण सम्पन्न भइनसकेको र बागमती प्रदेश सरकारले समेत जनवरी १ मै भ्रमण वर्ष घोषणा गर्न लागेकोले एउटै समयमा शुभारम्भ गरिँदा समस्या हुने देखिएको थियो ।


 

प्रकाशित मिति: शुक्रबार, पुस ६, २०८०  १३:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update