भरतपुर - प्रधानमन्त्री पुष्पकमल दाहालले भरतपुर अस्पतालको भौतिक पूर्वाधार विकासमा आवश्यक सहयोग गर्न सरकार तयार रहेको बताएका छन् ।
भरतपुर अस्पतालको वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा दाहालले शय्या क्षमतामा विस्तार, दक्ष जनशक्तिको समुचित व्यवस्थापन तथा रोग निदान र उपचारमा आवश्यकपर्ने अत्याधुनिक औजार उपकरणहरूको पर्याप्त व्यवस्थाको विषयलाई आफूले गम्भीरतापूर्वक लिएको बताउँदै सरकारका तर्फबाट आवश्यक पहल हुने विश्वास दिलाए । प्रधानमन्त्री दाहालले भरतपुर अस्पताल राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठानको आङ्गिक कलेज भइरहेका सन्दर्भमा आगामी शैक्षिकसत्रबाट नै एमबिबिएस कक्षा सञ्चालन गर्नुपर्ने अस्पताल प्रशासनको मागप्रति आफू सहमत रहेको बताए ।
उनले केही दशक अगाडि घना जङ्गल र झाडीले भरिएको, जङ्गली जनावर र विषालु जीवजन्तुको प्रकोप रहेको परिस्थितिमा मानव स्वास्थ्यलाई दृष्टिगत गरी भरतपुर अस्पताल निर्माण भएको स्मरण गरे । यस क्षेत्रकै आमजनतालाई आवश्यक स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यका साथ नेपाल–अमेरिका संयुक्त कोषअन्तर्गत भरतपुर अस्पतालको कार्यप्रारम्भ भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले वर्तमानसम्म आइपुग्दा ४० लाख सेवाग्राहीलाई विशेषज्ञ सेवा प्रदान गरेको जानकारी पाउँदा आफूलाई खुसी महसुस भएको बताए ।
कार्यक्रममा उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले यस अस्पताललाई विशिष्टकृत अस्पतालका रुपमा विकास गर्नुपर्ने बताए । विशिष्टकृत सेवा दिनका लागि स्वास्थ्य उपचार, स्वास्थ्य शिक्षा र अनुसन्धान आवश्यक हुने भन्दै उन्ले यस अस्पतालमा यी सबै पूर्वाधार तयार भएको बताए।
कार्यक्रममा प्रदेशसभा सदस्य उत्तम जोशी, भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारी, नेपाली कांग्रेसका जिल्ला सभापति राजेश्वर खनाल, नेकपा ९एमाले०का जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने लगाएतले अस्पतालको विकास र सेवा वृद्धिमा सङ्घीय सरकारले ध्यान दिनुपर्ने बताएका थिए । अस्पताल विकास समितिका अध्यक्ष राजु पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारीले अस्पतालका बारेमा प्रकाश पारेका थिए । अस्पतालले अहिले चितवनसहित २२ जिल्लाका बिरामीलाई सेवा पु¥याउँदै आएको छ ।