काठमाडौं : भारत भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले एसएमएस त्रिकोणात्मक टी-२० शृङ्खलाको उपाधि जितेको छ। गुजरात, बरोडा र नेपाल सम्मिलित सिरिज अन्तर्गत आइतबारको फाइनल खेलमा गुजरातलाई हराउँदै नेपालले उपाधि जितेको हो।
नेपाल फाइनल खेलमा १८ रनले विजयी भयो। टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै १७६ रन बनाएको थियो। १७७ रनको लक्ष्य पछ्याएको गुजरात २० ओभरमा ८ विकेट गउमाँदै १५८ रनमै समेटियो।
नेपालका अभिनास बोहोराले तीन विकेट लिए। दिपेन्द्र सिंह ऐरीले दुई विकेट लिँदा कुशल मल्ल र करण केसीले भने एक/एक विकेट लिए।
पहिले ब्याटिङ गरेको नेपालका लागि कप्तान रोहित पौडेलले उत्कृष्ट अर्धशतकीय इनिङ्स खेले। उनले मात्र ४७ बलमा ७४ रन बनाए। ओपनर ब्याट्सम्यान आसिफ शेखले पनि टोलीको खातामा ३४ बलमा ३४ रन जोडे।
अर्का ओपनर कुशल भुर्तेलले २१ बलमा १९ रन बनाए । दीपेन्द्रसिंह ऐरी तीन बलमा सात रन बनाउँदै पेभेलियन फर्किए। कुशल मल्लले पनि १३ बलमा अविजित ३१ बलमा रनको योगदान गरे।
सन्दीप जोराले तीन बलमा अविजित सात रन बटुले। भारतीय टोलीका बलर शेन पटेल, तेजस पटेल र जला युवराजसिंहले एक-एक विकेट लिए।