चितवनको सौराहा वन्यजन्तु र जैविक विविधताका लागि विश्वप्रसिद्ध छ । यसबाहेक यहाँको अर्को विशेषता हो थारु समुदायको मौलिक संस्कृति । स्वेदशी हुन् या विदेशी, सौराहा आउने पर्यटक थारु समुदायको कला, संस्कृति, परम्परा तथा भेषभुषालाई नजिकबाट नियाल्न र थारु परिकारको स्वादसमेत लिन लाालायित हुन्छन् । पर्यटन व्यवसायीहरुले यसलाई आफ्नो प्याकेजको महत्वपूर्ण हिस्सा बनाउने गरेका पनि छन् ।
यसका लागि सौराहामा थारु कल्चरल हाउसमार्फत् थारु संस्कृति तथा भेषभुषा देखाइने गरिएको थियो । तर्, थारुको मौलिक गाउँको सधैं अभाव महसुस हुने गरेको थियो ।
यही अभावलाई महसुस गर्दै सौराहाका दुई पर्यटन व्यवसायी श्रीराम सिलवाल र मधुसुदन सिलवालले थारु भिलेज सुरु गरेका छन् । ‘एक समय सौराहा थारुबहुल क्षेत्र थियो । तर, बिस्तारै यो समुदाय आधुनिक घरमा आकर्षित हुन थाल्यो, जसले गर्दा थारु गाउँ हेर्न आउने विदेशीलाई के देखाउने भनेर अन्योल हुने गर्थ्यो,’ सिलवालले भने, ‘पर्यटन व्यवसायीले थारु भिलेज टुर भनेर प्याकेजमा राख्ने, तर, यहाँ उनीहरुलाई देखाउने कुरा नभएपछि चार वर्षअघि थारु भिलेजको अवधारणा ल्याएको हुँ ।
थारु भिलेजको डिजाइन मधुसुदन आफैंले गरेका हुन् । जहाँ थारुका भेषभुषामात्र होइन, ढिकी कुट्ने, तोरी पेल्ने, खाना पकाउनेजस्ता उनीहरुका जीवनशैली पनि समावेश गरिएका छन् ।
यहा“ अहिले ५२ जना कार्यरत रहेकोमा सबै थारु समुदायका छन् । जसलाई बढाएर १ सय ५० पुर्याउने योजना सिलवालको छ । ‘समुदायका लागि रोजगारी वृद्धि गरी उनीहरुले नै बनाएका खानेकुरा आगन्तुकलाई खुवाउने योजना छ,’ उनी भन्छन् ।
सिलवालका अनुसार थारु संस्कृतिको रहनसहन र भेषभुषासँगै जन्मेदेखि मरणसम्मका संस्कृति संरक्षण गर्ने उद्धेश्यले थारु भिलेज सुरु गरिएको हो, जसलाई ‘हमार थारु गाउँ’ नाम दिइएको छ । यहाँ थारु समुदायमा प्रचलित चिचर, ढिक्री, चोखा, नुन, मर्चाको स्वादसँगै लोकल माछा, हाँस तथा कुखुराका परिकार पाइन्छन् भने ढिकी, जाँतोमा भएका कामलाई प्रत्यक्ष रुपमा हेर्न सकिनेछ । यस्तै, थारुको घरभित्र बसेर थारुका परम्परा अवलोकनसँगै थारु गीतसंगीतमा नाच्दै रमाउँदा जोकोही लोभिन्छन् । यहाँको थारु संस्कृति हेर्न विदेशबाट समेत आउने गरेका छन् । यहाँ सौराहाको मात्र होइन, पश्चिम बाँके, बर्दिया, दाङदेखि पूर्वको मोरङसम्मका थारुको रहनसहन हेर्न र महसुस गर्न पाइन्छ ।
‘भित्र पस्नेबित्तिकै पाहुनाहरु यति मुग्ध हुन्छन् कि, उनीहरुले निकै प्रशंसा गर्छन् । तर, म नजिकै भए पनि चिन्दैनन्, त्यतिखेर खुसीका साथै गर्व लाग्छ,’ मधुसुदनले अनुभूति सुनाए ।
युरोप, अमेरिकातिर माटोमा खेल्नु छाला तथा स्वास्थ्यका लागि लाभदायक मानिन्छ । त्यही देखेका उनले थारु भिलेजमा पनि माटोमा चिप्लेटी खेल्ने स्थान बनाउन थालेका छन्, जहाँ एउटा चिप्लेटीमा वयस्कहरु खेल्न सक्नेछन् भने अर्को चिप्लेटी बालबालिकाका लागि बनाइनेछ । बालबालिकालाई भनेर पार्क पनि बनाउने योजना बुन्दैछन् मधुसुदन ।