Mero Chitwan
चितवनमा ४३ पत्रकार सम्मानित

चितवन- नेपाल पत्रकार महासङ्घ चितवनले ४३ जना पत्रकारलाई सम्मान एवम् पुरस्कृत गरेको छ । २०५६ अगाडि नेपाल पत्रकार महासङ्घको सदस्यता लिएर क्रियाशील एवं पूर्वअध्यक्ष गरी ३४ पत्रकारलाई सम्मान एवं विभिन्न विधामा नौ जनालाई पुरस्कृत गरिएको हो ।

शनिबार भरतपुरमा गरिएको समारोहमा भरतपुर महानगर प्रमुख रेनु दाहाल, नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष विपुल पोखरेललगायतले पत्रकारहरुलाई सम्मानित गरेका हुन् । पत्रकार महासङ्घमा आबद्ध भएर पत्रकारिता क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै ३४ पत्रकारलाई ताम्रपत्र, प्रमाणपत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको पत्रकार महासङ्घ चितवनले जनाएको छ । त्यसैगरी पत्रकारको लेखनकला वृद्धि तथा हौसला प्रदान गर्न नौ जना पत्रकारहरुलाई रु १० हजारदेखि रु ५१ हजार राशिसम्मको पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरिएको छ ।

महासङ्घले स्थापना गरेको ५१ हजार १११ रुपैयाँ राशीको मैयादेवी पत्रकारिता पुरस्कार–२०८० बाट सृजना अर्याल तथा ५० हजार ५१ रुपैयाँ राशीको अनन्त गङ्गा पत्रकारिता पुरस्कार–२०८० बाट चाँदनी हमाल पुरस्कृत भएका छन् ।  त्यस्तै, ११ हजार ३११ रुपैयाँ राशीको तिलचन साँखी पत्रकारिता पुरस्कारबाट तीन जना पत्रकारलाई पुरस्कृत गरिएको छ । यो पुरस्कार शालिग्राम नेपाल, विमल खतिवडा र टीकादत्त तिमिल्सिनालाई प्रदान गरिएको हो। 

त्यसैगरी, ११ हजार १ सय ११ रुपैयाँ राशीको औद्योगिक पत्रकारिता पुरस्कारबाट सन्तकुमार चौधरी र हीरालाल गुरुङ पुरस्कृत भएका छन् ।  त्यस्तै ११ हजार १११ रुपैयाँ राशिको बालकुमारी विष्णुकुमारी अभ्युदय पत्रकारिता पुरस्कारबाट केशु लामिछाने र १० हजार १११ रुपैयाँ राशिको श्रुजश्री मैयादेवी पत्रकारिता पुरस्कारबाट प्रतिमा कुमाल सम्मानित भएको महासंघले जनाएको छ । 

कार्यक्रममा नेपाल पत्रकार महासङ्घले प्रकाशन गर्दै आएको स्मारिका ‘पत्रकारिता चितवन’ र सम्मानित ३४ जना पत्रकारहरुको व्यक्तित्व समावेश गरेर प्रकाशन गरिएको ‘योगदान’ पुस्तकसमेत सार्वजनिक गरिएको थियो ।

प्रकाशित मिति: शनिबार, चैत २४, २०८०  २२:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update