काठमाडौँ–पर्सा राष्ट्रिय निकुञ्जभित्र ३ वटा बाघ मरेको विषयमा निकुन्जले आधिकारिक धारणा सार्वजनिक गरेको छ । निकुञ्ज कार्यालयले बाघको मर्नुको कारण र मर्नुअघि उनीहरुको स्वास्थ्य अवस्थाबारे विज्ञप्तिमार्फत् स्पष्ट पारेको हो ।
तीन वटै बाघलाई विभिन्न मितिमा उद्धार गरेर खोरमा राखिएकोमा २ वटा पहिले नै विरामी अवस्थामा रहेका र उनीहरुको उपचार हुँदाहुँदै मृत्यु भएको तथा अर्को एउटाचाहिँ खोरमा ७ दिन अघिसम्म स्वास्थ्य अवस्था सामान्य रहेकोमा खाना खान नसकेका कारण मृत्यु भएको निकुञ्जले उल्लेख गरेको छ। पछि औषधिसमेत खान नसक्ने अवस्थामा उक्त बाघको मृत्यु भएको कार्यालयले जनाएको छ। २ वटा विरामी बाघहरु वृद्ध अवस्थामै उद्धार गरिएको र त्यतिबेलेै घाइते रहेको कार्यालयको भनाइ छ । ती बाघ २०८० असोज २५, फागुन १४ र चैत १६ गते मृत अवस्थामा खोरमा भेटिएका थिए ।
ती बाघले बस्तीमा पसेर मानिस र गाईबस्तु तथा बाख्रालाई मारेका कारण नियन्त्रणमा लिएर खोरमा राख्नुपरेको पनि निकुन्जले स्पष्ट पारेको छ । निकुञ्जले ती घाइते र विरामी बाघको उपचार गर्ने सुबिधासम्पन्न प्रविधि र उपचार केन्द्र निकुञ्जभित्र नरहेको पनि स्पष्ट पारेको छ।