Mero Chitwan
एक दिवसीय सिरिज :नेपाल ए आयरल्यान्ड उल्भ्ससँग पराजित,सिरिज पनि गुमायो

काठमाडौं : आयरल्यान्ड उल्भ्ससँगको तीन खेलको एक दिवसीय सिरिज नेपाल एले एक खेल अगावै गुमाएको छ । सिरिज अन्तर्गत आज भएको दोस्रो खेलमा आयरल्यान्ड १ सय १४ रनले विजयी भयो । आयरल्यान्डका बलर सामु नेपाली ब्याट्समेन निरिह देखिए । 

आयरल्यान्डले दिएको १ सय ७५ रनको लक्ष्य पच्छ्याएको नेपालले १६ दशमलब ५ ओभरमा अलआउट हुँदै ६० रन मात्र जोड्न सक्यो । आजको खेलमा पनि नेपालको ब्याटिङ पहिलो एक दिवसीयमा जस्तै नाजुक साबित भयो । कप्तान विनोद भण्डारीको १६ र भीम सार्कीको १७ रनबाहेक नेपालका कुनै ब्याट्समेनले दोहोरो रन जोड्न सकेनन् । आयरल्यान्डका म्याथ्यु हम्फ्रेजले ४ दशमलब ५ ओभर बलिङ गर्दै ८ रन दिएर नेपालका ६ विकेट लिए । यस्तै फियोन ह्यान्ड र थोमस मायजले समान २-२ विकेट लिए ।

कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको आयरल्यान्डले ३८ ओभर ४ बलमा सबै विकेट गुमाएर १ सय ७४ रन बनाएको थियो । नेपालका बलरले आयरल्यान्डलाई राम्रै दबाबमा राखे पनि ब्याटिङ नचल्दा नेपालले जित हासिल गर्न सकेन । 

आयरल्यान्डका ओपनर जेम्स म्याकोलम शून्य, स्टेफेन डाहनी २, पिटर मोर १७ र मोरगन टोपिङले २ रन बनाएका थिए । आयरल्यान्डले ४ विकेट गुमाउँदा २१ रन मात्र बनाएको थियो ।

बलिङमा आक्रामक सुरुआत गरेको नेपालले त्यसपछि पनि उत्कृष्ट प्रदर्शन गर्‍यो । ग्यारेथ डिलेनी शून्यमा क्याचआउट भए भने फिनोन ह्यान्डलाई मौसम ढकालले एलबीडब्ल्यू धरापमा पारे । एक सयम आयरल्यान्ड ६ विकेट गुमाएर ५० रन मात्र बनाएको कमजोर अवस्थामा थियो ।

तर, कप्तान निल रक र गेभिन होइले आयरल्यान्डलाई कमब्याक गराए । ४५ रन बनाएर निल रक २१औं ओभरमा आउट भए । त्यसैगरी, गेभिनले पनि अर्धशतकीय इनिङ खेले । यी दुई खेलाडीले आयरल्यान्डलाई प्रतिस्पर्धात्मक अवस्थामा पुर्‍याएका हुन् । अन्तिममा लियम मकार्थीले ३५ रनको योगदान गरे ।

नेपालका लागि शाहब आलम र रिजन ढकालले तीन-तीन विकेट लिए भने मौसम ढकालले दुई विकेट लिए । 

नेपालले पहिलो खेलमा २१ रनको हार ब्यहोरेको थियो । सिरिजको अन्तिम खेल आइतबार हुनेछ ।

 

प्रकाशित मिति: शुक्रबार, चैत २३, २०८०  १७:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update