सुनसरी : झडपको स्थिति उत्पन्न भएपछि सुनसरी प्रशासनले आज दुई गाउँपालिकामा निषेधाज्ञा जारी गरिएको छ । सुनसरीका कायममुकायम प्रमुख जिल्ला अधिकारी वेदराज फुयाँलले हरिनगर गाँउपालिका र देवानगञ्ज गाँउपालिका वडा नम्बर १ र ७ मा आज मध्याह्न १२ बजेदेखि लागू हुनेगरी अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको जनाएका छन् ।
बिहीबार एसइईको परीक्षा हुँदै गर्दा सुनसरीको हरिहर गाउँपालिका १ स्थित बालकृष्ण माध्यमिक विद्यालयमा भएको कुटपिटपछि दुई समूहबीच तनाव उत्पन्न भएको थियो । सोही विषयलाई लिएर हिजो दुई समूहबीच झडपसमेत भएको थियो ।
आज पनि बिहानैदेखि दुवै समूहबीच झडपको स्थिति उत्पन्न भएपछि सुरक्षा जोखिमलाई ध्यानमा राख्दै निषेधाज्ञा जारी गरिएको फुयाँलले जनाए । हिजो कुटपिटको घटनापछि दुवै समूह बिचमा झडप हुँदा प्रहरीले नियन्त्रणमा लिने क्रममा दुई प्रहरीसहित एक जना स्थानीय घाइते भएका थिए ।
कोशी प्रदेश प्रहरीका अनुसार दुई समूहबीचको झडपलाई नियन्त्रणमा लिने क्रममा ६ राउण्ड हवाइ फायर गरेको थियो । घाइतेको विराटनगरमा उपचार भइरहेको छ ।