Mero Chitwan
कानुन र उद्धेश्यविपरीतका कार्य गर्ने संस्थाबारे सूचना दिन गृहको आग्रह

काठमाडौँ-गृह मन्त्रालयले सामाजिक निर्देशन ऐन र संस्था दर्ता ऐनअनुसार स्थापना भएका कतिपय सङ्घ संस्थाले कानुन र संस्थाको उद्देश्य विपरीत कार्य गरेको गुनासा आएको भन्दै त्यस्ता गतिविधि गर्ने संस्थाका विषयमा जानकारी तथा सूचना उपलब्ध गराउन आग्रह गरेको छ । 

आफ्नो गाउँ ठाउँमा त्यसरी सञ्चालन भएका संस्थाले कानुन विपरीत वा गर्नुपर्ने कार्य नगरेको भएमा जिल्ला प्रशासन कार्यालयमा सूचना दिएर सहयोग गर्न मन्त्रालयले आम सर्वसाधारणमा अनुरोध गरेको हो ।

त्यस्ता संस्थाले समयमा नवीकरण नगरेको, संस्थागत सुशासन कायम नगरेको, गैरकानुनी रुपमा विदेशी सहायता लिएको, कार्यक्रम सञ्चालन गर्दा सुरक्षा सतर्कता नअपनाएको, संस्थाको नाममा रहेका सम्पत्तिको दुरुपयोग गरेको एवं त्यस्तो सम्पत्ति सीमित व्यक्तिको हितमा उपयोग गरेको जस्ता गुनासा आउने गरेका छन्।

मन्त्रालयले भनेको छ, ‘आफ्नो समुदायमा गैरकानुनी रूपमा सञ्चालनमा रहेका, कानुन बमोजिम गर्नुपर्ने कार्य नगरेका, कानुन विपरीतका कार्य गरेका, आन्तरिक सुशासन कायम नगरेका, संस्थाको सम्पत्ति निजी हितमा उपयोग गरेका संस्थाको बारेमा सूचना, जानकारी सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा उपलब्ध गराई सहयोग गरिदिन सबै नागरिकहरुमा अनुरोध छ ।’

गृह मन्त्रालयले कुनै संस्थाले कानुन बमोजिम गर्नुपर्ने कार्य नगरेको वा प्रचलित कानुन विपरीत कार्य गरेको भएमा तत्काल अनुगमन गरी प्रचलित कानुन बमोजिम कारबाही गर्न स्थानीय प्रशासनलाई निर्देशन पनि दिएको छ ।

 

प्रकाशित मिति: शुक्रबार, चैत २३, २०८०  ०७:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update