Mero Chitwan
गृहमन्त्रीपत्नी निकिता पौडेल संलग्न सहकारीमा काठमाडौं महानगरको छापा

काठमाडौं-बचत हिनामिनाको उजुरीपछि काठमाडौं महानगरपालिकाले गृहमन्त्री रवि लामिछाने पत्नी निकिता पौडेल संलग्न रहेको साइ स्वागत बचत तथा ऋण सहकारी संस्थामा छापा मारेको छ । त्यसक्रममा केही कागजात नियन्त्रणमा लिइएको महानगरले जनाएको छ ।

बचतकर्ताको रकम फिर्ता नदिएको र अपचलन भएको उजुरी परेपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले त्यसको जानकारी महानगरसँग मागेको थियो ।  त्यसपछि महानगरले उक्त सहकारीमा छापा मारेको हो । यो सहकारीका चार पदाधिकारीमध्ये गृहमन्त्री लामिछाने पत्नी निकिता उपाध्यक्ष थिइन् । 

निकिता जमानी बसेर राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वसांसद ढाकाकुमार श्रेष्ठलाई ८० लाख रुपैयाँ ऋण दिएको बताइएको छ । यो सहकारीमा निकिता जमानी बसेर प्रवाह भएको अधिकांश ऋण उठेको छैन । महानगरले सहकारीका सफ्टवेयर र ऋणीहरूको सूचीसमेत नियन्त्रणमा लिएको छ । 

काठमाडौं महानगरपालिकामा सहकारीसम्बन्धी १९ सय १५ वटा उजुरी परेका छन् । महानगरले ४० वटा सहकारीमा अनुगमन गर्ने तयारी गरेको छ ।

प्रकाशित मिति: बुधबार, चैत २१, २०८०  २१:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update