काठमाडौँ-उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत सबै निकायका प्रतिनिधिले भीआइपीको स्पष्ट मापदण्ड बनाउन निर्देशन दिएका छन् ।
मन्त्रालयमा सरोकारवालाबीच भएको छलफलमा गृहमन्त्री लामिछानेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्ष प्रयोग नगर्न गृह मन्त्रालयका अधिकारीलाई आग्रह पनि गरे । “नागरिकलाई चार घण्टा कुराएर आफू चार मिनेटमा छिर्ने प्रवृत्ति न्यूनीकरण गर्नुपर्छ”, उनले भने, “सुरक्षा वा अन्य व्यवस्थापनको बहानामा यात्रुलाई हैरानी र सास्ती दिने प्रवृत्ति अन्त्य गर्नुपर्छ ।” नागरिकलाई सेवा दिने, अन्तर्राष्ट्रिय पहिचान स्थापित हुने र सुरक्षाजस्तो संवेदनशिल विषयमा बजेटको अभाव देखाएर नपन्छिन आग्रह गरे ।
विमानस्थलको आगमन एवं प्रस्थान व्यवस्थित गर्न अत्यावश्यक रहेको उल्लेख गर्दै उनले भीआइपीले आफ्नो मर्यादा ख्याल नगर्दा सुरक्षा चुनौती बढेको बताए । लामिछानेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा प्रबन्धलाई सुदृढ र प्रभावकारी बनाउन राष्ट्रिय सुरक्षा सल्लाहकार शङ्करदास बैरागीको नेतृत्वमा गठित समितिको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न पनि निर्देशन दिएका छन् ।
विमानस्थलबाट बाहिरिएको करिब ६१ किलो सुन बरामद भएपछि गत भदौमा सरकारले विमानस्थलको सुरक्षा सुदृढीकरणका लागि राष्ट्रिय सुरक्षा सल्लाहकार वैरागीको नेतृत्वमा अध्ययन समिति गठन गरेको थियो । समितिले बुझाएको प्रतिवेदनमा नेपाल प्रहरीको छुट्टै हवाई सुरक्षा सेवा गठन गर्न, विमानस्थलबाट निजी क्षेत्रका सुरक्षा गार्ड हटाउन र दुई वर्षभन्दा बढी कार्यरत कर्मचारीलाई सरुवा गर्न सुझाव दिएको छ ।
यस्तै आधुनिक उपकरण र डिटेक्टरको व्यवस्था गर्न, कुटनीतिक कार्गो जाँच गर्ने प्रणालीलाई थप प्रभावकारी बनाउन, विमानस्थलको एकीकृत ‘इन्टेलिजेन्स्’ बनाउन, अध्यागमन ऐन र नियमावली समय सापेक्ष संशोधन गरी विमानस्थलको प्रविधि सुधार गर्नुपर्ने लगायतको सुझाव समितिको प्रतिवेदनमा उल्लेख गरिएको छ ।