काठमाडौँ : भारतको गुजरातमा जारी मैत्रीपूर्ण टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत आफ्नो दोस्रो खेलमा पनि नेपाल विजयी भएको छ । नेपालले आज भएको खेलमा भारतको बरोडालाई २७ रनले पराजित गरेको हो ।
नेपालले दिएको १५७ रनको लक्ष्य पछाएको बरोडा २० ओभरमा अल आउट हुदै १२९ रन बनाएको थियो । यस अघि टस हारेर पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाउदै १५६ रन बनाएको थियो ।
नेपालका लागि कुशल भुर्तेल र आसिफ सेखले ९-९ रन बनाए भने कप्तान रोहित पौडेलले १८, अनिल शाहले २५, गुलशन झाले १३, सन्दीप जोराले २८ रन बनाएका थिए । त्यस्तै कुशल मल्लले अविजित ४० तथा दिपेन्द्र सिंह ऐरीले ५ रन बनाएका थिए ।
बरोडाका बलर बाबा खानले २ विकेट तथा परिक्षित पाटीदार र मोहित मोंगीयाले एक एक विकेट लिएका थिए ।
नेपालको यो लगातार दोस्रो जित हो । यस अघि नेपालले गुजरात क्रिकेट एसोसियसनलाई पराजित गरेको थियो । अब नेपालले अर्को खेल अप्रिल ३ मा गुजरातसँग तथा अप्रिल ५ मा बरोडासँग खेल्ने तालिका रहेको छ । त्यस्तै शिर्ष दुई टिमले ७ अप्रिलमा फाइनल खेल्ने छन् ।