Mero Chitwan
टी-ट्वेन्टी सिरिज :नेपाल ‘ए’ आयरल्यान्डसँग ३ रनले विजयी

काठमाडौं : नेपाल ‘ए’ ले तीन खेलको टी-ट्वेन्टी सिरिजको अन्तिम खेलमा आयरल्यान्ड उल्भ्सलाई ३ रनले हराएको छ । पहिले ब्याटिङ गरेको नेपालले आयरल्यान्डलाई २१४ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफमा आयरल्यान्डले ७ विकेट गुमाएर २१० रन मात्र बनाएपछि नेपालले सिरिजमा पहिलो जित दर्ता गरेको हो । योसँगै नेपाल क्लिन स्विप हुनबाट जोगिएको छ ।

त्रिवि क्रिकेट मैदानमा आयरल्यान्डले टस जितेर फिल्डिङको निर्णय गरेपछि पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा सात विकेट गुमाएर १३ रन बनाएको थियो । ओपनर देव खनाल दोस्रो ओभरमै ६ रन बनाएर आउट भए । दोस्रो विकेटका रुपमा लोकेश बमलाई व्यक्तिगत ८ रनमा गुमाउँदा नेपालले १५ रन मात्र बनाएको थियो ।

आयरल्यान्डका लियम म्याकार्थी र फिनन ह्यान्डले ओपनरलाई पभेलियन फर्काएका थिए । कप्तान विनोद भण्डारी ११ रन बनाएर क्लिन बोल्ड भए । नेपालले पाँचौं ओभरमै तीन विकेट गुमाएर ३३ रन बनाएको कमजोर अवस्थामा पुगेको थियो । बसिर अहमद र आरिफ सेखले ४७ रनको साझेदारी गरेर इनिङलाई उकासेका थिए । बसिर व्यक्तिगत १९ रनमा आउट भए । पवन सर्राफ १३ रनमा आउट हुँदा नेपालले १२१ रनमै ६ विकेट गुमाएको थियो । ३२ बलमा अर्धशतक पूरा गरेका आसिफ अन्तिमसम्म टिकेर नेपाललाई प्रतिस्पर्धात्मक अवस्थामा पुर्याएका थिए । उनले ४८ बलमा ९३ रन प्रहार गरे । रासिद खानले २४ र कमलसिंह ऐरीले १९ रन जोडे ।

आयरल्यान्डका फिनोनले दुई विकेट लिए भने ग्यारेथ डिलेनी र लियम म्याक कार्थी, माथ्थिउ फोस्टले पनि एक/एक विकेट लिए । जवाफमा आयरल्यान्डले पनि राम्रो सुरुआत गर्न सकेन । ओपनर जेम्स सात र पिटर मोर दुई रनमा आउट भए । रोज अडयरसहित विपिन खत्रीले सुरुका तीन विकेट लिएका थिए ।

कप्तान नेल रक दुई रनमा क्याचआउट हुँदा आयरल्यान्डले ५२ रन जोड्दा चार विकेट गुमाएको कमजोर अवस्थामा पुगेको थियो । मोरगन टोपिङ र ग्यारेथले आयरल्यान्डलाई लयमा फर्काए । उनीहरुले १२९ रनको साझेदारी गरेका थिए । १७ ओभर चार बलमा मोरगन ६० रन बनाएर आउट भए । डिलेनीले पनि ६८ रनको योगदान गरे । तर उनीहरुले टिमलाई जितसम्म पुर्याउन सकेनन् ।

नेपालको लागि विपिनले तीन, नारायण जोशी, कमल ऐरी र रासिद खानले एक/एक विकेट लिए । नेपालले यसअघिका दुवै खेलमा हार बेहोरेको छ । पहिलो खेलमा २१ रनको हार बेहोरको नेपालले दोस्रो खेलमा ४० रनले पराजित भएको थियो । तर अन्तिम खेलमा जित दर्ता गरेसँगै आयरल्यान्डले सिरिज ‘क्लिन स्विप’ गर्न भने सकेन ।

प्रकाशित मिति: सोमबार, चैत १९, २०८०  १७:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update