
काठमाडौं–राष्ट्रपति रामचन्द्र पौडेलले न्याय परिषद्को सिफारिसमा ६ जनालाई सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्त गरेका छन् ।
संसदीय सुनुवाइ समितिले आजै सर्वोच्च अदालतद्वारा प्रस्तावित ६ जना न्यायाधीशको नाम अनुमोदन गरेको थियो । न्याय परिषद्बाट अनुमोदित तिनै ६ जनालाई संविधानको धारा १२९ को उपधारा (२) बमोजिम राष्ट्रपतिले आज सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गरेका हुन् ।
न्याय परिषदले सिफारिस गरेका सारंगा सुवेदी, अब्दुल अजिज मसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनिल पोखरेल र बालकृष्ण ढकाललाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयले आज एक विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
न्यायाधीशमा नियुक्त गरिएका सुवेदी उच्च अदालत जनकपुरका न्यायाधीश हुन् । यस्तै अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल र टंक प्रसाद ढुङ्गाना उच्च अदालत पाटनका न्यायाधीश हुन् । सुनीलकुमार पोखरेल र बालकृष्ण ढकाल भने वरिष्ठ अधिवक्ता हुन् ।