काठमाडौँ–नेपालमै पहिलो पटक हाइड्रोजनको इन्धन भर्ने कार्य सुरु गरिएको छ । काठमाडौँ विश्वविद्यालयले काभ्रेको धुलिखेलस्थित आफ्नै परिसरमा स्थापना गरेको रिफ्युलिङ स्टेशनको परीक्षण सफल भएपछि कारमा इन्धन भर्न सुरु गरिएको हो । अब चाँडै नै प्रधानमन्त्रीलाई उद्घाटन गराइने विश्वविद्यालयले जनाएको छ ।
राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीसहित उच्च ओहोदामा रहेकाहरूलाई समेत हाइड्रोजन कार चढाएर यसबारे सचेतना बढाउने योजनामा विश्वविद्यालय छ ।
काठमाडौँ विश्वविद्यालयले दैनिक ३० देखि ३५ वटा गाडीलाई प्रत्येक दिन रिफ्युल गर्ने सक्ने ग्रिन हाइड्रोजन रिफ्युलिङ स्टेशन सञ्चालनमा ल्याउने गरी डिजाइन गरिरहेको छ ।
काठमाडौँ, पोखरा, विराटनगर, जनकपुर, वीरगन्ज जस्ता ठूला सहरहरूमा यस्ता स्टेशन सञ्चालनमा ल्याउने र ठूला सवारी तथा मालवाहक साधनमा हाइड्रोजन प्रयोग गर्ने विषयमा अझ अध्ययनलाई अघि बढाउँदै जाने हाइड्रोजन ल्याब प्रमुख डा विराज सिंह थापाले जनाएका छन् ।
कसरी बन्छ हाइड्रोजन इन्धन ?
पानी दुई तत्व मिलेर बनेको हुन्छ–हाइड्रोजन र अक्सिजन । विभिन्न विधिद्वारा पानीबाट हाइड्रोजन अलग गरेर इन्धनको रुपमा प्रयोग गर्न सकिन्छ, जसलाई गाडी तथा हवाईजहाजमा इन्धनको रुपमा प्रयोग गर्न सकिन्छ भने खाना पकाउने ऊर्जाको रुपमा प्रयोग गर्न सकिन्छ ।
पेट्रोल, डिजेल या कोइलाबाट कार्बन उत्सर्जन हुन्छ र पर्यावरणलाई हानी पुग्छ ।तर, हाइड्रोजन जलेपछि अक्सिजनसँग मिलेर पानी बन्छ र पर्यावरणलाई असर पर्दैन ।
हाइड्रोजन प्राकृतिक रुपमा अलग्गै पाइँदैन । तर, पानी, हाइड्रो कार्बनको रुपमा कोइला र ग्यास तथा तेलमा पाइन्छ । प्राकृतिक ग्यासबाट हाइड्रोजन अलग गर्ने प्रक्रियालाई स्टीम मिथेन रिफर्मिङ भनिन्छ, जुन विश्वभर प्रयोग भइरहेको छ। विश्वभर बर्सेनि १२ करोड टन हाइड्रोजन बनाइन्छ । तर यसबाट कार्बन उत्सर्जन हुन्छ । यसैले हाइड्रोजन बनाउने सबैभन्दा राम्रो तरिका भनेको पानीबाट हाइड्रोजन अलग गर्नु नै हो, जसलाई इलेक्ट्रोलाइसिस भनिन्छ । यो प्रक्रियामा अक्सिजनमात्रै उत्सर्जन हुन्छ ।
इलेक्ट्रोलाइसिस एक प्रक्रिया हो यसअनुसार विद्युतीय प्रवाह प्रयोग गरेर पानीबाट हाइड्रोजन विभाजित गरिन्छ । इलेक्ट्रोलाइसिस सामान्यतया विद्यालयका विज्ञान कक्षाहरूमा रासायनिक प्रतिक्रियाहरू र हाइड्रोजन उत्पादन प्रदर्शन गर्न प्रयोग गरिन्छ। तर व्यावसायिक स्तरमा, यो प्रक्रियालाई पावर(टू(ग्यास भनिन्छ, जहाँ पावर बिजुली हो भने ग्यास हाइड्रोजन हो। इलेक्ट्रोलिसिस प्रक्रियामा हाइड्रोजन र अक्सिजनबाहेक कुनै अन्य वस्तु उत्सर्जन हुँदैन ।