सर्लाही-सर्लाहीमा भिनाजुको नाममा माध्यमिक शिक्षा परीक्षा (एसइई) दिँदै गरेका एक परीक्षार्थी पक्राउ परेका छन् । धनकौल गाउँपालिका ३ हरकठवास्थित जनता माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट परीक्षा दिँदै गरेका कृष्ण महतो पक्राउ परेका हुन् ।
सिम्बोल नं. ०२२१००४५ का भिनाजु राकेशकुमार महतोको नाममा अनिवार्य गणित विषयको परीक्षा दिइरहेको अवस्थामा उनी पक्राउ परेका हुन् । महतोलाई परीक्षा अनुगमन समितिले पक्राउ गरेको हो । कृष्णका भिनाजु राकेशकुमार जनकल्याण माध्यमिक विद्यालय धनकौल गाउँपालिका १ धोबिनयाँका विद्यार्थी हुन् ।
राकेशकुमारको अहिलेसम्मका सम्पूर्ण परीक्षा रद्द गरिएको र अब अन्य विषयको परीक्षा समेत दिन नपाउने शिक्षा विकास तथा समन्वय इकाई सर्लाहीले जनाएको छ । नक्कली परीक्षार्थी कृष्ण महतोलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मलङ्गवाको हिरासतमा राखिएको छ ।
यसैबीच सर्लाहीमा माध्यमिक शिक्षा परीक्षा (एसइई) अन्तर्गत आइतबार तीन जना केन्द्राध्यक्षलाई निष्कासन गरी नयाँ केन्द्राध्यक्ष तोकिएको छ । आइतबार तेस्रो दिन सञ्चालन भएको अनिवार्य गणित विषयको परीक्षामा आफ्नो परीक्षा केन्द्रभित्र मर्यादा कायम गर्न नगर्ने तीन जना केन्द्राध्यक्षलाई कारवाही स्वरुप जिम्मेवारीबाट हटाएर नयाँ केन्द्राध्यक्ष नियुक्त गरिएको हो ।
मलङ्गवा नगरपालिका–११, गम्हरियाको श्रीमती लक्ष्मीदेवी जनता माध्यमिक विद्यालय परीक्षा केन्द्रका केन्द्राध्यक्ष तथा सोही विद्यालयका प्रधानाध्यापक दिनेश राय, चक्रघट्टा गाउँपालिका–२, बेल्हीको जनता माध्यमिक विद्यालय परीक्षा केन्द्रका केन्द्राध्यक्ष वीरेन्द्र चौधरी र जनता माध्यमिक विद्यालय धनकौल गाउँपालिका ३ हरकठवा परीक्षा केन्द्रका केन्द्राध्यक्ष एवं सोही विद्यालयका प्रधानाध्यापक रामनारायण यादवलाई जिम्मेवारीबाट हटाइएको हो ।