पाल्पा- पाल्पामा शनिबार अपराह्न चलेको हावाहुरीले रुख ढल्दा सडकमा गुडिरहेको स्कुटरमा चढेका एक युवकको मृत्यु भएको छ । हावाहुरी चलेपछि रोकेर राखेको मोटरसाइकल च्याप्दा अन्य तीनजना घाइते भएका छन् ।
सिद्धार्थ राजमार्गअन्तर्गतको पाल्पा-डुम्रे सडक जरेपिपलनजिकै उत्तिस र सल्लाको रुख ढलेर लाग्दा स्कुटर चालक पाल्पाको तानसेन नगरपालिका ५, कैलाशनगरका २० वर्षीय भुवन सिँजालीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
लु.८१प ११३६ नम्बरको स्कुटर चालक भुवन पाल्पाबाट बुटवलतर्फ जाँदै गर्दा हावाहुरीले ओतिने क्रममा च्यापिएको प्रहरीले जनाएको छ । हावाहुरीकै कारण सोही स्थानमै रोकिराखेको ग.१०प ५७२१ नम्बरको स्कुटर र अर्को एक मोटरसाइकल पनि च्यापिएको छ ।
पानीसहित आएको हावाहुरीले रुख पल्टाएका कारण केही समय पाल्पा-बुटवल सिद्धार्थ राजमार्गसमेत अवरुद्ध भएको थियो । स्कुटर र मोटरसाइकलमा चढेका अन्य तीनजना घाइते भएको र उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
चट्याङ लागेर बालिकाको मृत्यु
यसैबीच दैलेखको भैरवी गाउँपालिका–७ पानिपोखरीमा शनिबार दिउँसो चट्याङ लागेर १२ वर्षीया शर्मिला कँडेलको मृत्यु भएको छ ।
चट्याङ लागेर गम्भीर घाइते उनलाई उपचारका लागि सुर्खेत लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । चट्याङ लागेर एउटा खसीसमेत मरेको जनाइएको छ । दैलेखमा दिउँसो ५ बजेतिर हावाहुरीसहित पानी परेको थियो ।
विद्यालयको छाना उडायो
यस्तै प्युठानको झिमरुक गाउँपालिका ४, बांगेमरोटमा रहेको दीपेन्द्र प्राविको छाना शनिबार दिउँसोको हावाहुरीले उडाएको छ । ५ बजेतिर आएको हावाहुरीले विद्यालय भवनको आधापाखो टिन उडाएको हो । हावाहुरीले नौबहिनी गाउँपालिका २, लिघामा आदिवासी जनजाति कार्यालयको भवनको छाना पनि उडाएको छ ।