Mero Chitwan
गंगासागरमा मानवसागर

कलकत्ता, क्यालकटा हुँदै कोलकाता बनेको यो शहरमा सायद ब्रिटिस साम्राज्यको प्रभाव धेरै पछिसम्म थियो । फलस्वरुप यहाँका अधिकांश धनीमानीले घरमा नोकर चाकर र चौकिदार राख्ने गरेका थिए भन्ने अडकल गर्न सकिन्छ । तीस चालिसको दशकतिर हाम्रा धेरै गाउँलेहरूले यहाँको माटोमा पसिना चुहाएर र आफ्नो श्रम बेच्दै घर गृहस्थी चलाएको म सम्झिन्छु । जब गाउँमा अभाव हुन्थ्यो,अधिकांश गाउँलेहरूको सोचाई कलकत्ता जानुपर्छ भन्ने थियो । केही महिना केही वर्ष कलकत्ता बसाइबाट फर्किएपछि पुनः केही समयका लागि गृहस्थ राम्रै चल्थ्यो । कलकत्ताबाट केही कमाएर फर्किने

कलकत्तेहरूले रिन तिर्ने पैसामात्र होइन, जीरा मसला , चिया, चिनी , लत्ता कपडा पनि उतैबाट लिएर आउने गरेका थिए । त्यहाँ घरको चौकिदारी, टोलको रखवारी, सरकारी र निजी विद्यालयका पियन, चौकीदार तथा केही कपडा कोठीमा पाइने जागिर नै यताबाट जानेहरूको मुख्य पेशा हुन्थ्यो । जेसुकै पेशा किन होस्, सबैको एउटै नाम “ दरमान" भन्ने प्रचलन थियो । 

जुन कुरा उनीहरूले बयान गर्ने गरेका कुराकानीको आधारमा हामीले थाहा पाउने गरेका थियौं । तिनले आफूलाई “दरमान" भने पनि गाउँतिर उनीहरूलाई लाहुरे भन्ने गरिन्थ्यो । यसरी कलकत्ताबाट घर आइपुगेका लाहुरेहरूको घरमा हामी भुरा केटाकेटीहरू अनिवार्यरुपमा पुग्ने गरेका हुन्थ्यौं । त्यसको मुख्य कारण थियो, तिनले ल्याएका कलकत्ते चकलेटको स्वाद मजाले लिन पाइन्थ्यो । 

  यिनले गाउँमा आएपछि गरेको (हावडा) हौडाहा पुलको बयानले मलाई कहिले कलकत्ता पुगौं र त्यसको अवलोकन गरौं भने झैं औडाहा हुन्थ्यो । “हौडाहा पुलमा एउटै पनि पिल्लर छैन । पुल निर्माणको क्रममा एउटै पनि नट प्रयोग भएको छैन । यसमा टाटा कम्पनीको फलाम मात्र प्रयोग भएको छ । त्यो पनि हजारौं मेट्रिक टन । पुल अत्यन्त लामो छ । " जब म यी वर्णन सुन्थें , मलाई आश्चर्य लाग्थ्यो । आफूले देखेका पक्की पुलहरूमा पिल्लर हुन्थ्यो । बडाबडा नटले कसिएको हुन्थ्यो । निकै लामो र चर्चित हौडाहा पुल कस्तो होला ? त्यो पुल देख्ने अवसर मैले पनि पाउँला ? 

 त्यो वर्णनले लोभिएको मेरो कलकत्ता शहर अवलोकन गर्ने रहर पुरा हुन सकेको थिएन । त्यो सुनेको करिब पैंतालिस पचास वर्षपछि संयोगले त्यो अवसर प्राप्त भयो । जब २०८० साल पौष २४ गते हामी श्रीमान, श्रीमति एवं भाउजु र सरलासहित वनारस ,जगन्नाथ दर्शन एवं माघे स्नानका लागि गङ्गासागर यात्राका क्रममा निस्किएका थियौं ।

तीर्थयात्राका क्रममा घरबाट निस्केको पाँचौ दिन हामी कलकत्ता पुग्यौं । मलाई बाल्यकालमा सुनेको कलकत्ताको वर्णन याद आइरहेको थियो । कलकत्ता शहर घुम्ने रहर पुरा हुन लागेकोले म निकै उत्साहित बनेको थिएँ ।तोकिएको दिन अर्थात् पौष मसान्तसम्म हामी गङ्गासागर पुग्नैपर्ने हुन्थ्यो । किनकि हामी माघे सङ्क्रान्तिका दिन गङ्गासागर पुगेर माघे स्नान गर्ने योजना थियो । पवित्र गङ्गा नदी र बङ्गालको खाडीस्थित महासागरसँगको मिलन विन्दु नै गङ्गा सागर हो । हिन्दू परम्परामा गङ्गा सागर स्नानलाई निकै महत्त्वपूर्ण रुपमा हेर्ने गरिएको छ। 

माघेसंक्रान्तिका दिन गङ्गासागर पुग्नु पर्ने कारण हामी कलकत्ता पुग्नासाथ सोचे जस्तै घुमफिर गर्न नभ्याइने भयो । बरु गङ्गा सागरबाट फर्कने समयमा भने एकदिनभरी कलकत्ता घुम्ने कार्यक्रम तय गरेका थियौं । 

गङ्गासागर पुग्न कोलकाताबाट करीब ९० किलोमिटर दक्षिणमा रहेको काकद्वीप पुग्नु पर्थ्यो । जहाँ समयमा पुग्न नसक्ने हो भने बस राख्ने स्थानको समेत अभाव हुनसक्ने कुरा हाम्रो टोलीका अगुवा मन्नुलाल शाहले बताइरहेका थिए । यसर्थ कलकत्ताबाट कत्ति पनि ढिला नगरि रातको एक बजे हामी काकद्वीपतर्फ प्रस्थान गर्यौं । बिहान ५ बजे वरीपरी नै हामी काकद्वीप पुगेर त्यहाँस्थित गङ्गासागर मेला अवधिका लागि तयार गरिएको अस्थायी बसपार्कमा बस थन्क्याएर नित्यकर्म तिर लाग्यौं । त्यहाँ लाखौं मानिसहरूको भिडमा पनि पश्चिम बङ्गाल सरकारले सम्पूर्ण तीर्थयात्रुका लागि अस्थायी धारा तथा शौचालयको व्यवस्था मिलाएको थियो । सहजरुपमा नित्यकर्म सकिवरी हामी काकद्वीप स्थित जेटवार्ज चढ्न जाने तयारी गर्दै थियौं । 

 यसैबीच दुई तीन जनाको समुहमा आएका युवाहरूले हाम्रो समुहमा आएर कुरा गर्न लागे "यहाँहरूलाई जेटवार्जसम्म पुग्न लाइन बस्ने हो भने छ देखि सात घण्टा लाग्छ । होइन छिटै जेटवार्जसम्म पुग्ने हो भने प्रति व्यक्ति एकसय पचास रुपैयाँ दिनुहोस्। हामी छोटो र चोरबाटो हुँदै लाइन बस्नु नपर्ने गरि अगाडिसम्म पुर्याइ दिन्छौं । बढीमा एक घण्टामा पुग्न सकिन्छ । ”

20240330_091211-1711769965.jpg

लामो यात्राका कारण थकाइले लखतरान भएका हामीलाई छ सात घण्टा लाइनमा उभिने कुराले सातो गइसकेको थियो । त्यसैले हामीले केही बार्गेनिङ गरेर भएपनि एकसय बिस रुपैंया दिन राजी भयौं । पैसा दिन त राजी भयौं तर मनमा भने अनेकौं शङ्का उब्जिएको थियो । पैसा दिएपछि यिनीहरूले छलछाम गरे भने त्यत्रो मानव सागरमा तिनलाई कता खोज्नु ? फेरी तिनीहरू नभागे पनि यो कुरो यथार्थ हो वा होइन ? जे होस् मनभित्रको आशङ्काबीच हामीले पैसा दियौं । तिनले दलाली धर्म छोडेनन् । हामीलाई त्यो लाखौं मान्छेहरूको लाइन छलाएर चोर बाटो लिएर हिँडे । हामी आज्ञाकारी बनेर तिनैका पछिपछि लाग्यौं । एक घण्टा भनिए पनि हामी साँढे दुई घण्टामा काकद्वीपस्थित जेटवार्ज चढ्ने स्थानसम्म पुग्न सफल भयौं । त्यो लाइन देख्दा लाग्थ्यो छ सात घण्टामात्र होइन लाइनबाट गएको भए हामीलाई त्यहाँ पुग्न दशौं घण्टा लाग्न सक्थ्यो । 

 घुस,कोशेलीमार्फत भ्रष्टाचार हुने कुरा नेपाल र भारतमा नौलो कुरा होइन । ठाउँ फेला पारे कसैलाई घुस खान कसैले सिकाउनु पर्दैन र घुस खुवाउन पनि हामी उत्तिकै सिपालु छौं । जेहोस् घुस दिए पनि मनखत भएन । काकद्वीप बन्दरगाहबाट जेटवार्ज चढेको ४० मिनेटमा हामी पारीपट्टी रहेको कचुबेरीया घाट पुग्यौं ।

गङ्गासागर तटमा पुग्न थप ३६ किलोमिटर दूरी बाँकी थियो । जसमध्ये सुरुवात तर्फको केही र अन्तिम केही भाग लाइनमा उभिएर र बाँकी बसमा यात्रा गर्नु पर्नेरहेछ । बन्दरगाहतर्फको चार किलोमिटर र अन्तिम चार किलोमीटर पैदल हिँड्ने गरि बीचको करिब अठ्ठाइस किलोमिटर भाग बसमा यात्रा गर्ने गरि व्यवस्थापन गरिएको थियो । सडकको हरेक बिस/ तीस मिटर दूरीमा बाँसका तगराहरू तेर्स्याइएका थिए । त्यो एउटा तगारो क्षेत्र भित्र १० मिनेट देखि आधा, पौने घण्टा सम्म उभिनु पर्थ्यो । अगाडि भिड घटेपछि मात्र पछाडिका यात्रुलाई अगाडि बढ्न दिने व्यवस्था मिलाइएको थियो । थकाइले लखतरान भएका थियौं । मान्छेको भिडले उडाइएको धुलो त्यस्तै थियो हेरि नसक्नु थियो ! 

त्यहाँ निकै ठूलो संख्यामा स्वयं सेवकहरू परिचालन गरिएका थिए । पश्चिम बङ्गाल प्रहरीले अत्यन्त होसियारीपूर्वक यात्रुहरूको सुरक्षामा ध्यान दिइरहेको देखिन्थ्यो । कुनै तीर्थयात्री बिरामी भए, वेहोस भए तत्काल उपचार सेवा उपलब्ध गराइरहेका थिए । स्वयंसेवकहरू यात्रुलाई निःशुल्क पानी वितरणमा खटिरहेका थिए । यस बाहेक बोतलका पानी बिक्री गर्नेहरू पनि बाक्लै देखिन्थे । बिस रुपैंया पर्ने बोतलको पानी दश र पन्ध्र रुपैयाँमा पनि उपलब्ध थियो । उनीहरूले जतिसक्दो धेरै बोतल बिक्री गरेर नाफा गर्ने उद्धेश्य लिएका देखिन्थे ।

गङ्गासागर स्नान कम महत्वपूर्ण हुँदैन, त्यो पनि मकर स्नान । आफूले देवघाट,रिडी र पाल्पा रहँदा राम्दीघाटमा कालिगण्डकी नदीमा मकर स्नान गरेको बाहेक अन्य चर्चित तीर्थस्थलहरूमा मकर स्नान गरेको सम्झना छैन अथवा त्यस्तो कुनै अवसर प्राप्त भएको थिएन । हामी केटाकेटी हुँदा हाम्रो घर नजिकै बुढी गण्डकी नदी बगेकी भएपनि माघे स्नान गरेको सम्झना छैन् । त्यस बेलासम्म माघे स्नान गर्ने चलन थिएन या मैले थाहा पाइन ! यिनै दुई मध्ये एउटा कुरा मुख्य कारण हुनुपर्छ।

 हामी अधिकांश नेपालीहरू तीर्थयात्राको क्रममा नेपालका केही प्रसिद्ध तीर्थस्थल बाहेक भारतीय भूमिका तीर्थस्थल जाने पुरानो प्रचलन हो । यसै सिलसिलाको पहिलो कडीका रुपमा हामीले पनि यसपटक केही तीर्थस्थल जाने निर्णय गरेका थियौं । अन्य स्थानहरूमा तीर्थ जाँदा सामान्य अनुभूति हुने गरेको भएपनि गङ्गासागर यात्रा स्मरण योग्य बन्यो । अत्यन्त कठिनाइ भोग्दै पुग्नु पर्ने भएपनि जब त्यहाँ स्नान गरियो सबै थकान स्वत: हराएको महशुश भएको थियो । कठिनाइ हुनुमा मुख्य गरेर दुई कुराको प्रत्यक्ष प्रभाव परेको देखिन्छ । एक त माघेसंक्रान्तिका कारण त्यहाँ थामिनसक्नु मानव सागर उर्लिने रहेछ । अर्को, तीर्थयात्रा व्यवस्थित गर्ने क्रममा ३६ किलोमिटर बाटो पनि निश्चित समय भित्र पुग्न सकिएको थिएन ।

त्यहाँ मानव सागर उर्लिएको समाचार भारतीय टेलिभिजन च्यानलहरूले प्रत्यक्ष प्रसारण मार्फत गरिरहेका थिए । भारतीय न्यूज च्यानल आजतक एवं अन्य केही च्यानलहरूले प्रत्यक्ष प्रसारण मार्फत गत साल अठासी लाख दर्शनार्थीले स्नान गरेकोमा यस वर्ष सो संख्या वृद्धि भएर एक करोड पुगेको समाचार टेलिभिजन स्क्रिनमा देखाइ रहेका थिए ।

यो मानव सागरलाई थेग्न पश्चिम बङ्गाल सरकारले यात्रु व्यवस्थापन कार्यविधि तयार गरेर गङ्गासागरसम्मको प्रवेशलाई अत्यन्त व्यवस्थित तरिकाले मिलाएको देखिन्थ्यो । यसबाट तीर्थयात्रुलाई लामो समय लाग्ने भएकोले केही असहज जस्तो लागेपनि यसले मानवीय क्षती हुनबाट भने निकै महत्वपूर्ण भूमिका खेलेको थियो । सायद यस्ता विभिन्न कठिनाइका कारण “ अन्य तीर्थ बारबार गङ्गासागर एकबार ” भनिएको हुनुपर्छ । 

 यो पवित्र स्थानमा मुस्किलले आइपुग्दा राती एक पटक स्नान गरेर मात्र चित्त बुझेन, हामीले बिहान ४ बजे पनि स्नान गर्ने निधो गर्यौं । राती दुई बजे बास सकेको स्थान नजिकै स्नान गरेका थियौं । बिहान भने केहीबेर हिँडेर अलिपर जानु पर्यो । समुन्द्र त्यति नजिक थिएन । अघिल्लो दिन हामी यहाँ आइपुग्ना साथ समुन्द्र अवलोकन गर्न जाँदा आधा घण्टा टाढा जानु परेको थियो । यस अर्थमा के बुझियो भने राती बाह्र बजे निकै वर किनारसम्म आउने समुन्द्र सतह दिउँसो भने निकै पर पुग्ने रहेछ । 

  दिनभरीको थकाइ र भोकले आक्रान्त बनाए पनि साँझ हामीले कुनै भोजनालयमा पसेर खाना खायौं । भोजनालय पनि केही निशुल्क थिए भने केही सशुल्क भोजनालय थिए । त्यहाँ दाल भात, खिर र खिचडी ‌सबै उपलब्ध थिए । आ-आफ्नो इच्छा वमोजिम खाना खाएर हामी बल्ल सुत्ने तरखरमा लागेका थियौं । 

 जे होस् बिहानको स्नान पछि हामी कपिल मुनिको मन्दिर दर्शन गर्न गयौं । गङ्गासागरको नजिकै रहेको कपिल मुनि मन्दिरमा कपिल मुनिको दर्शन गर्दा पनि निकै भिडभाड थियो । बिजुली बत्तीको सानदार रङ्गिन प्रकाशमा मन्दिर अत्यन्त आकर्षक देखिन्थ्यो । सबैकुरा सुन्दर र आकर्षक देखिए पनि नागा साधुहरूले बलजफ्ती पैसा माग्ने र नदिए कुचोले टाउकोमा ठटाउने गरेको देख्दा त्यति राम्रो लागेन । 

त्यहाँ गाई दान गर्नेहरुका लागि गाई खरिद गर्न समेत सुविधा उपलब्ध थियो । हामीले गाई दान नगरेपनि कयौं मान्छेले स्नान पछि गाईदान गरेका थिए । शङ्ख र शङ्खबाट बनेका चुराको बजार गङ्गासागर देखि कपिल मुनि आश्रमसम्म उत्तिकै थिए । पक्की घरका पसलदेखि अस्थायी झुपडीसम्म र त्रिपाल बिछ्याएर राखिएका पसलसहरूमा सबैतिर शङ्ख र चुरा मात्र देखिन्थे । 
चितवन

प्रकाशित मिति: शनिबार, चैत १७, २०८०  ०९:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update