चितवन : कोरोना महामारीपछि चार वर्षको अन्तरालमा यही पुस १० देखि चितवनको सौराहामा हात्ती महोत्सव हुँदैछ । तर, यसपटक विगतजस्तो हात्ती दौड तथा हात्ती पोलो र फुटबलजस्ता खेल आयोजना हुने छैनन् ।
किन यसो गरिएको हो ?
महामारीअघि सन् २०१९ मा गरिएको हात्तीको फुटबल प्रतियोगिताका क्रममा हात्तीलाई यातना दिइएको दृश्य सार्वजनिक भयो, जसको पशु अधिकारवादी संस्थाहरुसहित विश्वभर नै विरोध भयो । त्यतिखेर पशु अधिकारवादी संस्था पेटाले तत्कालीन प्रधानमन्त्री केपी ओलीलाइ पत्र नै लेखेर विरोध जनायो ।
अझ पशु अधिकारवादीहरुले त्रिभुवन अन्तर्राष्टिय विमानस्थलमा यस्ता यातनापूर्ण कार्यक्रम बहिस्कार नै गर्नुपर्ने आह्वानसहितको ब्यानर राख्ने प्रयास गर्यो । तर विमानस्थल प्रशासनले स्वीकृति दिएन ।
२०१९ को यातनापूर्ण दृश्य सार्वजनिक भएपछि महोत्सवका प्रायोजकले समेत नाम फिर्ता लिएका थिए ।
आज आयोजित पत्रकार सम्मेलनमा पनि आयोजकले हात्तीको शोषण भएको भनी पशुअधिकारकर्मीले विषय उठाएपछि यो पटक हात्तीलाई कष्ट हुने किसिमका प्रतियोगिता नहुने जनाएका हुन् ।
के के हुँदैछ यसपटक ?
पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले चितवनमा ‘चितवन पर्यटन तथा हात्ती महोत्सव’ आयोजना हुने भएको छ । कोभिड–१९ का कारण रोकिएको महोत्सव यही पुस १० देखि १४ गतेसम्म हुने गर्न लागिएको हो ।
होटल सङ्घ नेपाल (हान) अन्तर्गतको क्षेत्रीय होटल सङ्घ नेपाल चितवनको आयोजना तथा युनाइटेड हात्ती सञ्चालन संक्षण संस्था र रेष्टुरेन्ट एन्ड बार एसोसिएसनको सह–आयोजनामा १७औँ संस्करणको महोत्सव हुन लागेको हो ।
सङ्घका अनुसार यसपटक हात्ती सुन्दरी प्रतियोगिता, हात्तीका लागि वनभोज, स्वदेशी र विदेशी पर्यटन व्यवसायीसँग बिटुबी सहमति, सांस्कृतिक झाँकीलगायत कार्यक्रमको तालिका छ ।
सङ्घका अध्यक्ष विनायक शाहले कोभिडपछि लयमा फर्किरहेको मुलुकको पर्यटनलाई थप गतिशील बनाउन महोत्सवले सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले अहिले ३५ लाख पर्यटकलाई सेवा दिने पूर्वाधार बनेको र पर्यटन पूर्वाधारमा खर्बौं लगानी भइसकेकाले ती पूर्वाधारबाट प्रतिफल लिनेगरी रणनीतिक प्रवर्द्धनका कार्यक्रम ल्याउन जरुरी भएको उल्लेख गरे । उनले ‘वाइल्ड लाइफ’ सफारीका लागि उल्लेख्य सङ्ख्यामा विदेशी पर्यटक आउने भएकाले चितवनमा हात्तीसम्बन्धी गतिविधि हुने गरेको भन्दै हात्तीको संरक्षण र अधिकारको विषयमा सजक रहेर गतिविधि सञ्चालन हुने उल्लेख गरे।
महोत्सव सकिएलगत्तै क्षेत्रीय होटल सङ्घले नयाँ वर्ष सन् २०२४ को पूर्वसन्ध्यामा पुस १५ गते विशेष सांस्कृतिक कार्यक्रम आयोजना गर्ने तयारी गरिरहेको क्षेत्रीय होटल सङ्घ चितवनका कोषाध्यक्ष माधव दुवाडीले जानकारी दिए ।
भरतपुर महानगरले सन् २०२४ लाई ‘चितवन भ्रमण वर्ष’का रुपमा घोषणा गरेको छ । हात्ती महोत्सवले सो भ्रमण वर्षको प्रचारप्रसारमा पनि योगदान पु¥याउने जनाइएको छ । कोषाध्यक्ष दुवाडीका अनुसार सौराहा क्षेत्रमा अहिले पाँच हजार पाहुना व्यवस्थापन गर्ने होटलका शय्या छन् । महोत्सवमा दैनिक २० हजार हाराहारीको सहभागिता हुने आयोजकको अनुमान छ । महोत्सवका लागि रु एक करोड आठ लाख खर्च हुने जनाइएको छ ।