Mero Chitwan
राज्य व्यवस्था समितिमा प्रधानमन्त्री : एनसेल शेयर किनबेच अस्वाभाविक छ 

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहालले एनसेल शेयर बिक्री प्रक्रिया सरकारलाई सहज र स्वाभाविक नलागेको बताएका छन् । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा प्रधानमन्त्री दाहालले एनसेल शेयर बिक्री प्रक्रियाका सहज र स्वाभाविक नलागेर नै सरकारले तत्काल निर्देशन र समिति गठन गरी छानबिन प्रक्रिया अघि बढाएको स्पष्ट गरे।

छानबिन समितिको प्रतिवेदन प्राप्त भएपछि सरकारले दूरसञ्चार सेवा प्रदायक कम्पनीहरूको नियमन, विदेशी लगानीको वातावरण निर्माणमा थप सहजीकरण, विदेशी मुद्रा सटही सुविधा र कर प्रशासनमा सुधारका लागि आवश्यक कदम चाल्ने उनले बताए । 

उनले एनसेल प्रकरणमा कतै कसैबाट कानुन विपरीतका काम कारबाही भए गरेको पाइएमा कानुनबमोजिम हदैसम्मको कारबाही गर्न सरकार प्रतिबद्ध रहेकोबारे समितिलाई जानकारी गराए । यसको संवेदनशीलता करमा मात्र सीमित नभएको जनाउँदै प्रधानमन्त्री दाहालले विदेशी लगानी भित्र्याउने प्रक्रियामा समान्य त्रुटि गरिएमा राष्ट्रका लागि ठूलो क्षति हुन सक्नेतर्फ समेत सरकारले गम्भीररुपमा लिएको बताए । 

प्रधानमन्त्री दाहालले शेयर किनबेचबारे भए गरेका काम कारबाही  तथा समग्रमा यसले नेपालको राजस्व, लगानी र दूरसञ्चारको विकासमा पर्ने पार्ने प्रभावका बारेमा गहन र विस्तृत अध्ययन तथा छानबिन गर्न पूर्वमहालेखापरीक्षक टङ्कमणि शर्मा दङ्गालको संयोजकत्वमा पाँच सदस्यीय अध्ययन तथा छानबिन समिति गठन गरेको बताए। समितिलाई ३० दिनभित्र पेस गर्ने कार्यादेश दिइएको छ ।

प्रधानमन्त्री दाहालले एनसेल आजियटाको स्वामित्वमा रहेको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको आठ सय पाँच शेयर न्यून मूल्याङ्कन गरी खरिद–बिक्री भएको तथा उक्त कारोबारमा करछलीको योजना गरिएको भन्ने समेतका विषय विभिन्न सञ्चारमाध्यममा प्रकाशन र प्रसारण भएपछि सो सम्बन्धमा विभिन्न क्षेत्रबाट चासो व्यक्त गरिएको बारे पनि समितिलाई जानकारी दिए । 


 

प्रकाशित मिति: मंगलबार, पुस ३, २०८०  १५:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update