Mero Chitwan
सहकारी प्रकरणमा मेरो नाम मात्र उल्लेख छ : गृहमन्त्री लामिछाने

काठमाडौं : उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी अनियमितता प्रकरणमा आफ्नो नाम जोडिए पनि नाम बाहेक कुनै कुरा नभएको दाबी गरेका छन् । संसदको राज्य व्यवस्था समितिमा सदस्यहरुले सोधेको प्रश्नको जवाफ दिने क्रममा गृहमन्त्री लामिछानेले सहकारी ठगीमा आफू संलग्न नरहेको जिकिर गरे । 

'जहाँ मेरो नाम छ भनिएको छ, त्यहाँ मेरो नामबाहेक केही पनि छैन । न हस्ताक्षर छ, न ल्याप्चे छ, न मैले निवेदन दिएको छु । न मेरो सामान्य केवाईसी भरिएको छ, त्यहाँ केही पनि भरिएको छैन । न मैले कुनै पत्र पाएको छु, न कुनै अनुसन्धान भएको भन्ने कुरा थाहा छ,' उनले बैठकमा भने, 'मैले सुनेअनुसार त्यो मुद्दा अदालतमा दर्ता पनि भइसकेको छ । अदालतमा दर्ता भएको सो मुद्दामा म प्रतिवादी छैन । अदालतमा दर्ता भएको सो मुद्दामा भएका प्रतिवादीको वयानमा पनि मेरो नाम रवि लामिछाने भन्ने नाम कही उल्लेख भएको मलाई जानकारी छैन । एउटा जाहेरी छ । जुन सूचनाका रुपमा प्रहरीले दर्ता गरेको बाहेक त्यो दर्ता पनि भएको छैन भन्ने मलाई जानकारी आएको छ ।' 

लामिछानेले यो विषय आफू सरकारमा सहभागी हुनु भन्दा अगाडिकै भएकाले आफूले गृहमन्त्रीका रुपमा प्रभावित पार्न कुरै नउठ्ने जिकिर पनि गरे । बैठकमा नेपाली कांग्रेसमा सांसद दिलेन्द्रप्रसाद बडूले 'सहकारी प्रकरणमा आएको रवि लामिछाने भन्ने नाम कसको हो?' भन्दै प्रश्न गरेका थिए ।

 

प्रकाशित मिति: बुधबार, चैत १४, २०८०  १६:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update