Mero Chitwan
वरिष्ठ साहित्यकार  दधिराज सुवेदीको निधन

विराटनगर : वरिष्ठ साहित्यकार एवम् प्राज्ञ दधिराज सुवेदीको ७८ वर्षको उमेरमा बुधबार बिहान निधन भएको छ। 

क्यान्सरपीडित सुवेदीको उपचारका क्रममा विराट मेडिकल कलेज एण्ड टिचिङ अस्पताल बुढीगंगा मोरङमा निधन भएको हो। उहाँको पार्थिव शरीरलाई बुधबार नै  विराटनगरस्थित परोपकार घाटमा दाहसंस्कार गरिने जानकारी उहाँका छोरा तथा गोरखापत्रका सहसम्पादक शरदराज सुवेदीले जानकारी दिनुभयो । 

उहाँको निधनप्रति गहिरो शोक प्रकट गर्नुहुँदै राष्ट्रपति रामचन्द्र पौडेलले फोनमार्फत परिवारका सदस्यलाई समवेदना प्रकट गर्नुभएको छ ।  

भोजपुरको दिङ्लामा जन्मनु भएका सुवेदी विराटनगरलाई कर्मक्षेत्र बनाएर साहित्यमा सक्रिय हुनुहुन्थ्यो ।  उहाँका खोज तथा अनुसन्धानमूलक दर्जनौँ कृति प्रकाशित छन् । पुस्तक लेखन मात्रै होइन उहाँ समालोचना गर्न पनि त्यतिकै जागरुक हुनुहुन्थ्यो । 

सुवेदीका साधनाको अभिरेखाङ्कन (२०४४), प्रतिभा र प्रस्तुति (२०४५) र नेपाली साहित्यका मुस्कानहरू (२०६९) समालोचनात्मक कृति प्रकाशित छन्। सुवेदीको समालोचना सङ्ग्रह  विश्वविद्यालयहरूमा पढाइ हुने गरेका छन् ।  स्वर्गीय सुवेदीका श्रीमती, दुई छोरा र एक छोरी हुनुहुन्छ । 

प्रकाशित मिति: बुधबार, चैत १४, २०८०  १०:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update